प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी, अन्य पदाधिकारीमा को को निर्वाचित ?
हेटौंडाः नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । प्रतिस्पर्धफ अनिता विन्दुलाई पराजित गर्दै लम्साल विजयी भएका हुन् । लम्सालले ७४५ मत पाउँदा अनिताले ६१२ मत पाइन । अनितालाई कांग्रेस संस्थापन पक्षले उम्मेदवार बनाएको थियो । लम्साल संस्थापनइतरको समर्थनमा चुनावी मैदानमा थिए । पदाधिकारीमा अधिकांश संस्थापनइतरका उम्मेद्वार निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवका उम्मेदवार दिलीप पौडेलले जित हासिल गरेका छन् । केसीले सरोज अधिकारीमाथि निकै प्रतिस्पर्धात्मक जित हासिल गरे । पौडेलले जगन्नाथ दुलाललाई पराजित गरेका हुन् । पौडेलले झन्डै दोब्बर मतान्तरले जित हासिल गरे । उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित हुँदा राममणि दाहाल र शेखर रेग्मी पराजित भएका छन् ।
त्यस्तै, उपाध्यक्ष महिलामा सलोजा दाहाल विजयी भइन्। यस्तै प्रदेश १ मा डिल्लीराम खतिवडा, मधेश प्रदेशमा अनिल कर्ण, वाग्मतीमा मुरारी अधिकारी निर्वाचित भए । गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा माधव अर्याल, कर्णालीमा राजेन्द्र बहादुर कार्की निर्वाचित भए । सुदूरपश्चिममा प्रेम चुनारा विजयी भए । उपत्यकाको उपाध्यक्षमा जीवन भण्डारी निर्वाचित भए ।
उपमहासचिव खुला तीन पदमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी विजयी भए । उपमहासचिव महिलामा सुलोचना गौतम र दिलीपाश्री अधिकारी निर्वाचित भए । उपमहासचिव समावेशीमा अभयकुमार राई निर्वाचित भएका छन् ।
खुला चार सचिवमा केदार दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत विजयी भए । महिला सचिव तीन पदमा मेनुका ढुंगाना, पुष्पा शर्मा र रेजिना गौतम निर्वाचित भएका छन् । जनजातितर्फको सचिवमा लालकुमार मोक्तान निर्वाचित हुँदा मधेशी सचिवमा अजित तिवारी निर्वाचित भए ।
दलित सचिवमा राजन रुचाल र पिछडिएको क्षेत्रबाट एलपी देवकोटा विजयी भए । खस आर्य सचिवमा युवराज रेग्मी, सचिव रेडियो माध्यममा नरहरि सापकोटा, सचिव छापामा राधा खनाल र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भए । धितालले निकै प्रतिस्पर्धात्मक जित हात पारे ।