बेलायती प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा ऋषि सुनक अगाडी
लण्डन । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेताका लागि बुधबार भएको पहिलो चरणको मतदानमा पूर्व अर्थ मन्त्री ऋषि सुनक सबैभन्दा अगाडी देखिएका छन । पहिलो चरणको प्रतिस्पर्धामा सबैभन्दा बढी ८८ मत निवर्तमान अर्थमन्त्री ऋषि सुनाकले पाएका छन् । त्यस्तै, दोस्रो स्थानमा पेनी मोर्डन्टले ६७ मत, तेस्रो स्थानमा लिज ट्रसले ५० मत, चौंथो स्थानमा केमी ब्याडेनोकले ४० मत, पांचौ स्थानमा टम टुगेन्डहटले ३७ र छैठौँ स्थानमा सुएला ब्रेभरम्यानले ३२ मत प्राप्त गरेका छन् ।
तीस मतको थ्रेसहोल्ड कटाउन नसक्ने नादिम जहावी र जेरेमी हन्टले क्रमश: २५ र १८ मत प्राप्त गरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कञ्जरभेटिभ पार्टीको ब्याकबेञ्चर कमिटी १९२२ का अध्यक्ष सर ग्राहम ब्रेडीले नतिजा सुनाउँदै हन्ट र जाहावीको चुनावी यात्रा सकिएको बताए ।त्यस्तै विदेश मन्त्री, स्वास्थ्य मन्त्री र सँस्कृति मन्त्री समेत भईसकेको जेरिमी हन्ट बोरिस जोन्सनसित अन्तिम चरणसम्म नेतृत्वको दौडमा थिए । तर यसपटक पहिलो चरणबाट उनी बाहिरिएका छन् । दलका सांसदहरुको मतदानपछि कम्तीमा तीस मत प्राप्त गर्ने ६ जना दोस्रो चरणको प्रतिस्पर्धाका लागि छानिएका हुन् । पार्टी नेताका जम्मा ८ उम्मेद्वारमध्ये तीसभन्दा कम मत पाउने अन्य दुई भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
पहिलो चरणबाट अघि बढ्न सफल ६ प्रतिस्पर्धीमध्येबाट अब थप केही चरणका मतदानपछि फाइनल दुई छनोट हुनेछ । दोस्रो चरणको मतदान आजै हुनेछ ।
फाइनल राउन्ड पुग्ने दुई प्रतिस्पर्धीबीचको अन्तिम प्रतिस्पर्धामा भने देशभरका करिब एक लाख ६० हजार कञ्जरभेटिभ पार्टी सदस्यले मत दिन पाउनेछन् । सो मतदानबाट विजयी हुने नेतालाई बेलायतको नयाँ प्रधानमन्त्री हुने अवसर मिल्नेछ । केही दिनअघि पदबाट राजीनामा घोषणा गरेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रतिस्थापन गर्न उनको कञ्जरभेटिभ पार्टीमा नेता चयन प्रकृया जारी छ । नयाँ प्रधानमन्त्री पाउन अगामी सेप्टेम्बर ५ तारिखसम्म पर्खिनु पर्नेछ ।