अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा, अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन् । अनाधिकृत व्यक्तिलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादित बन्दै आएका छन्। मन्त्री पदबाट राजीनामा दिन उनलाई चौतर्फी दबाबसमेत आएको थियो ।
अन्नपूर्ण पोस्ट्को छापा संस्करणमा गत ३० जेठमा ‘बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए..’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेको थियो। एमालेका तर्फबाट योगेश भट्टराईले जनसुकै उपायबाट भए पनि राजीनामा गराउनुपर्ने बताएका थिए । ‘सभामुखज्युले अर्थमन्त्रीलाई बोल्ने समय दिनुभएको छ। त्यसमा हाम्रो विमत्ति छ। गम्भीर आपत्ति छ। अर्थमन्त्रीको हैसियतामा उहाँलाई बोल्ने अधिकार छैन,’ उनले भने, ‘कुन उपायबाट हुन्छ पहिले उहाँलाई राजीनामा गर्न लगाउनुस् कि त प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्यो ।’
उनले संसदीय समितिले दोषी पत्ता लगाउने नभई अर्थमन्त्रीलाई कारबाही सिफारिस गर्ने बताएका थिए। ‘उहाँ स्वतः दोषी हुनुहुन्छ। संसदीय समितिले दोष पत्ता लगाउने पनि होइन। समितिले के कारबाही गर्ने भन्ने अध्ययन गर्ने हो,’ उनले भने ।
उनले अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दायरा हेरफेर गरेको, सीसीटीभी फुटेज मेटाएको लगायत कुराहरु आएकाले पदमै आसीन रहँदा सूचनाहरु मेटाउनसक्ने बताएका थिए। ‘उहाँलाई पदमा राखेर कुनै पनि छानबिन हुन सक्दैन। पदमा बस्ने हो भने पदको दुरुपयोग भएर सूचना गायब हुनसक्छ,’ उनले भने ।
अर्थ मन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्रीले नै सम्हाल्ने
काठमाडौँ — अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा प्रधानमन्त्री देउवालाई तोकेकी हुन् ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीजयूको सिफारिसमा अर्थ मनत्रालयको कार्यभार प्रधानमन्त्री देउवाज्यूले समहाल्ने गरी तोक्नु भएको छ ।’
बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानबिन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।
साथै बजेट निर्माणका क्रममा मन्त्रालयभित्र अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।
झन्डा छोपेर संसद् भवनबाट बाहिरिए शर्मा
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ ।
राजीनामाको घोषणा गरेलगत्तै संसद्बाट बाहिरिएर उनले सञ्चारकर्मीहरुलाई छानबिनका लागि सहयोग गर्न मार्गप्रशस्त गरेको प्रतिक्रिया दिए ।त्यसपछि उनी गाडीतिर अगाडि बढे । गाडीमा बढ्दाबढ्दै झन्डाको खोल ननिकाल्न सहयोगीलाई आग्रह गरे । मन्त्रालयबाट बा २ झ ३७३३ नम्बरको झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँदा झन्डा छोपेर त्यही गाडीमा बाहिरिए ।
उनी संसद् भवन प्रवेश गर्नुअघि प्रहरीले स्कर्टिङ गरेर लगेका थिए भने बाहिरिँदा पनि त्यही गाडीले नै स्कर्टिङ गरेको थियो ।