जाँदाजाँदै पोखराका मेयर जिसीले सुटुक्क दिएका थिए जग्गा भाडामा
पोखरा – पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले आफ्नो कार्यकाल सकिनु केही दिन बाँकी छँदा आफूखुसी निजी क्षेत्रलाई जग्गा भाडामा दिएको खुलेको छ । मेयर छँदा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका जिसीले नियम मिचेर पोखराको तीन ठाउँको जग्गा सुटुक्क भाडामा दिएको खुलेको हो ।
पोखरा उपत्यका नगर विकास समितिमा मतगणना चलिरहँदा गत जेठ ३ मा उनले विभिन्न कम्पनीहरूसँग सम्झौता गरेको खुलेको हो । बिरामी रहेका मेयर जिसीले पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख अशोक सुनारलाई तोकादेश गराएर भाडामा लगाउने सम्झौता गरेको कुरा डेढ महिनामात्र समितिका अन्य कर्मचारीहरूले थाहा पाएका थिए ।
समितिका सदस्यसचिव समेत रहेका महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सोमबारमात्र यसबारेमा आफूले थाहा पाएको बताए। सम्झौता हुँदा आफू बिदामा रहेको उनको भनाइ छ । समितिमा १० सदस्यीय हुने भए पनि पूर्व मेयरले कार्यकालको अन्तिम घडीमा बद्नियत काम गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
जिसीले करिब १८ रोपनी रहेको पर्यटन बसपार्क शिला शालिग्राम निर्माण सेवा प्रालिलाई दिएका हुन् । जसको भाडा मासिक २ लाख ७५ हजार रहेको छ भने १० वर्षका लागि सम्झौता गदि दिएका हुन् । सम्झौता पत्रमा प्रथम पक्षका तर्फबाट जिसी र देस्रो पक्षका तर्फबाट छविलाल कुँवरले हस्ताक्षर गरेका छन् ।
यस्तै, गल्फ कोर्स एक्सन बिल्डर्सलाई दिएका छन् । उनले सो जग्गा मासिक २ लाख ७२ हजार भाडा तिने गरी सम्झौता गरेका छन् । ४० रोपनी भाडामा लिनेदिनेबारे सम्झौतामा दोस्रो पक्ष कम्पनीका तर्फबाट विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् ।
उता, यातायात कार्यालयले यसअघि सवारी ट्रायल परीक्षाका लागि प्रयोग गर्दै आएको ५ रोपनी राइजिङ कन्स्ट्रक्सनलाई १० वर्षका लागि भाडामा दिइएको खुलेको । मासिक १ लाख ३५ हजार बुझाउने गरी कम्पनीका तर्फबाट गिरबहादुर पुनको हस्ताक्षर छ ।