सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, ४० हजार डलरमा अनुबन्धित

काठमाडौँ — नेपाली क्रिकेटर सन्दीप लामिछानेले तेस्रो लंका प्रिमियर लिग (एलपीएल) दाम्बुला जायन्ट्सबाट खेल्ने भएका छन् । लंका प्रिमियर लिगको वेभसाइटमा जनाए अनुसार उनी ४० हजार अमेरिकी डलरमा प्रि ड्राफ्डेट भएका हुन् । दाम्बुलाले अन्तर्राष्ट्रिय खेलाडी कोटामा डायमन्ड क्याटगोरीबाट स्पिनर सन्दीपलाई ४० हजार डलरमा लिएको हो ।

पाँच टिम सहभागी हुने लंका प्रिमियर लिग जुलाई ३१ बाट अगस्ट २१ सम्म हुनेछ । लिगका खेलहरू कोलम्बो र हम्बन्नटोटामा हुनेछन् ।

श्रीलंका क्रिकेट (एएलसी) ले आयोजना गर्ने प्रतियोगिताको २०२२ को संस्करणका लागि ३ सय ५३ खेलाडी ड्राफ्टमा रहेका थिए । त्यसमा १ सय ८० विदेशी खेलाडी थिए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीपले यसअघि विश्वका सबै जसो लिग खेलिसकेका छन् । लामिछाने हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड सिरिजको तयारीका लागि क्यानडामा छन्। लामिछानेसँग इण्डियन प्रिमियर लिग, बिग ब्यासलिग लगायत विश्वका सबैजसो ठूलो टी २० लिग खेलेको अनुभव छ।