सिकागो गोली काण्डमा ६ जनाको मृत्यु, २४ घाइते
सिकागो : अमेरिकाको सिकागो नजिकैको हाइल्याण्ड पार्कमा सोमबार अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । सो आक्रमणमा २४ जना घाइते भएका छन् ।हाईल्याण्ड पार्क प्रहरी प्रमुखले आक्रमणमा संलग्न २२ वर्षीय संदिग्धलाई पक्राउ गरिएको बताएका छन् । प्रहरीले एक राइफल समेत बरामद गरेको छ ।
राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन् । उनले आक्रमणपछि हाइल्याण्ड पार्कका जनतालाई सहयोग गर्न स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको बताएका छन् । राष्ट्रपति बाइडेनले परेड शुटिङको घटनाबारे थाहा पाएर आफू स्तब्ध भएको बताए। उनले अमेरिकामा बन्दुक हिंसा विरुद्धको लडाई जारी राख्ने बताए ।
हाइल्यान्ड पार्कका प्रहरी प्रमुख लु जोगम्यानले पक्राउ परेका २२ वर्षीय रोबर्ट इक्रिमोको भएको बताए। प्रहरीले आक्रमणकारीको पहिचान कसरी भयो भन्ने कुरा बताउन अस्वीकार गरेको छ । परेड सुरु भएको १० मिनेटमै फायरिङ सुरु भएको थियो । अमेरिकामा गत महिना पनि टेक्सास, बफेलो सुपरमार्केटलगायत धेरै ठाउँमा गोली चलेको थियो ।
बीबीसी