धम्पुस परिवार यूकेको अध्यक्षमा सर्वसम्मत कुमार गुरुङ चयन
अल्डरसटस्थित एम्पायर हलमा हिजो जुलाई ३ तारिख २०२२ साल आइतबार सम्पन्न धम्पुस परिवार यूकेको १४ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले कुमार गुरुङलाई अध्यक्ष पदमा सर्बसम्मत चयन वा निर्बाचित गरेका छन । यसै अधिवेशनले प्रथम उपाध्यक्षमा धन गुरुङ, दोस्रो उपाध्यक्षमा अमर गुरुङ, महासचिवमा गोलमान गुरुङ, सचिवमा रबि गुरुङ, कोषाध्यक्षमा राजेन गुरुङ, सहकोषाध्यक्षमा अर्जुन गुरुङ चयन गरेका छन । अन्य कार्यसमिति सदस्यहरु अमर गुरुङ र कुमार गुरुङ चयन भएका छन् ।
पहिलो चरणको वार्षिक साधारणसभामा परिवारको कोषाध्यक्ष अशोककुमार गुरुङले आर्थिक प्रतिवेदन र महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अत्यन्तै सौहार्द्रपूर्ण वातावरणमा सञ्चालन भएको वार्षिक साधारणसभा तथा अधिवेशनमा सदस्यहरुले परिवारको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिँदै हालसम्मका गतिविधिप्रति सबै जनाले खुसी प्रकट गरेर पाँचौ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । पहिलो चरणको अन्तमा अध्यक्ष इन्द्र नारन गुरुङले धन्यवाद मन्तव्य राख्दै पाँचौ कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।
दोस्रो चरणमा परिवारको छैटौं कार्यसमिति छान्न निर्वाचन मण्डललाई जिम्मेवारी दिइएको थियो । निर्वाचन समितिका अध्यक्ष ले. रि. ललित गुरुङ, संरक्षक गुप्तबहादुर गुरुङ र पूर्वअध्यक्ष एवं सल्लाहकार अमरसिंङ गुरुङले छैटौं कार्यसमिति सर्वसम्मतले निर्वाचित भएको घोषणा गरेका थिए । निर्वाचन परिणाम घोषणापश्चात् निर्वाचन समितिका अध्यक्ष ललित गुरुङले निर्वाचनमा उत्साहजनकरुपमा सहभागी भई सफल बनाइदिएकोमा आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष कुमार गुरुङले सर्वसम्मत परिवारको अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । कुमार गुरुङ सहारा यूकेका निवर्तमान अध्यक्ष, कोने/घोताने/ घोण्डे समाज यूकेका बर्तमान उपाक्ष्यक्ष र तमुधिं यूकेका सल्लाहकार पनि हुन् । नवनिर्वाचित अध्यक्ष कुमार गुरुङ यसअघि गुरुङ धम्पुस परिवार यूकेका प्रथम उपाध्यक्ष थिए ।
धम्पुस परिवार यूकेमा हालसम्म ४ जना अध्यक्षहरु क्रमश: देबबहादुर गुरुङ, दयमल गुरुङ, अमरसिंङ गुरुङ र इन्द्रनारन गुरुङले सफल नेतृत्व गरिसकेका छन् ।