जसपाबाट ३ मन्त्री फेरिए, शपथ ४ बजे
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । जसपाको सिफारिसमा तीन जना मन्त्री हटाएर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पार्टीभित्र विवाद चुलिएर फुटको संघारमा पुगेपछि जसपाले मन्त्री बदलेको हो ।
नयाँ मन्त्रीको रुपमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा प्रवेश भएका छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रलयको जिम्मेवारी दिइएको छ । यी तीनै जना बाबुराम भट्टराईसँग निकट भएर पार्टी विभाजनमै लैजाने तयारीमा थिए । तर अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको आश्वासन दिएपछि उनीहरु जसपामै मिलेर जान तयार भएका थिए ।
जसपाले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर आइतबार नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने परिवर्तन गरिएको छैन ।
जसपाले आइतबार आफ्नो पार्टीका तीन मन्त्री हेरफेर गर्दै नियुक्तिका लागि सिफरिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर शेउवाले उनीहरुलाई नियुक्त गरेर सोमबारै राष्ट्रपति कार्यालयलाई जानकारी गराएका हुन् ।
राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरुको सोमबार दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय गरेको हो ।