मिस नेपालको ग्रान्ड फिनाले आज, २४ सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएकाे छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् ।

आयोजक द हिडन ट्रेजरले प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् ।

२४ प्रतियोगी मध्य यो वर्ष ६ जना डाक्टर पनि उपाधिका लागि भिड्दै छन् । जसमा प्रतिस्पर्धी नम्बर ३ डा. दिलाशा डोटेल, नम्बर ५ डा.आयुष्नोभा ढुंगाना, नम्बर ७ डा.मेरिका बास्तोला (डेन्टिष्ट), नम्बर १४ डा.सरीषा श्रेष्ठ, नम्बर १८ डा.यशस्वी श्रेष्ठ तथा नम्बर २३ डा.गंगा गुरुङ रहेका छन् ।

हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपालका लागि यो वर्ष देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए। जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

अघिल्ला दुई वर्ष हुन नसकेको मिस नेपाल यसपटक भौतिकरुपमै आयोजना भएको हो । शनिबार बेलुकी ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ । यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने द हिडन ट्रेजरले जनाएको छ ।

फिनालेमा ११ जना निर्णायक रहनेछन् । नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।