केपी ओली प्रधानमन्त्री भएको बेला एसपीपीबारे पत्राचार गरेको
काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको देखिएको छ ।
तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्राचार गर्दै नेपाल सरकारको तर्फबाट एनजीएसएसपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको तीन बुँदे पत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ ।
यस्तै, दोस्रो बुँदामा भने यस कार्यक्रममा सहभागी हुँदा यसले दीर्घकालीन तथा दुई पक्षलाई नै फाइदा पुग्ने गरी सुरक्षा सम्बन्ध मजबुत हुनुका साथै सैन्य कुशलता तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने तथा सुरक्षा ज्ञान आदानप्रदान गर्न मद्दत पुग्नुका साथै सुरक्षा समन्वयमा थप क्षमता वृद्धि हुनेछ । यस कार्यक्रमले दुवै पक्षको चाहना रहेको प्रकोप प्रतिकार्य तयारी तथा व्यवस्थापन, वायुसेवा पूर्वाधार व्यवस्थापन र सुरक्षा आदानप्रदान र संवेदनशील पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरुको व्यावसायिकरण र विकासमा सहयोग पुग्नेछ ।
साथै, तेस्रो बुँदामा नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ । यो पत्र सम्बन्धमा नेपाली सेनाले अध्ययन गरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सार्वजनिक भएको पत्रबारे अध्ययन भइरहेको र सबै बुझेपछि प्रतिक्रिया दिने बताए ।
संसदीय समितिले बोलायो प्रधानसेनापति, के के छन् एजेण्डा ?
काठमाडौं : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलमा आमन्त्रण गरेको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको हो ।
शुक्रबार विहान ९ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानसेनापति शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आमन्त्रण गरिएको सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । ‘अहिलेको परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा भएका विभिन्न कुराहरु छन्। त्यसैगरी एसपीपीको कुराहरु पनि छ । प्रधानसेनापतिको विदेश भ्रमणको कुरा छ। यो के हो भनेर बुझ्नलाई हामीले बोलाएका छौं,’ उनले अन्नपूर्णसँग भनिन् ।
सभापति खरेलले सेनापतिको अमेरिका भ्रमण र एसपीपीमा सेनाको भूमिकाबारे जनआवाज उठेकाले संसदीय समिति स्पष्ट हुन खोजेको बताइन्।
समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता डा. भीम रावल, पूर्वरक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस सचेतक पुष्पा भुसाललगायत सदस्य छन्।