यस्तो छ सात प्रदेशको बजेट

काठमाडौँ- सातै प्रदेश सरकारले आज प्रदेश सभामा बजेट पेस गरेका छन् । ६ प्रदेश सरकारले विगतको तुलनामा केही बढाएर बजेट प्रस्तुत गरेका छन् भने १ प्रदेशले बजेटको आकार घटाएको छ। आकारमा सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले प्रस्तुत गरेको छ भने सबैभन्दा सानो कर्णाली प्रदेशले प्रस्तुत गरेको छ । बागमती प्रदेशले ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशले गत आवको भन्दा ३ अर्ब ९३ करोड घटाएर ३२ अर्ब ६१ करोडको बजेट प्रस्तुत गरेको छ ।

अन्य प्रदेशहरूमा प्रदेश-१ ले ३९ अर्ब ७३ करोड प्रस्तुत गरेको छ त्यस्तै मधेश प्रदेशले ४६ अर्ब ८८ करोडको बजेट प्रस्तुत गरेको छ । गण्डकी प्रदेशले ३५ अर्ब ९० करोडको बजेट प्रस्तुत गरेको छ । लुम्बिनी प्रदेशले ४२ अर्ब ६३ करोड तथा सुदुरपश्चिम प्रदेशले ३६ अर्ब ७४ करोड बजेट प्रदेशसभा समक्ष प्रस्तुत गरको छ ।

विगतका वर्ष कोभिडले गर्दा सानो आकारको बजेट ल्याएका प्रदेशहरूले आगामी आवको लागि भने बजेटको आकार केही बढाएका छन् । समग्रमा आगामी आवको लागि प्रदेशको बजेट करिव ३ खर्ब ५ अर्ब ४२ करोड रहेको छ । चालू आवमा समग्र प्रदेशको बजेट २ खर्ब ६१ अर्ब ८२ करोड रूपैयाँ रहेको थियो । आगामी आवको लागि प्रदेशहरूले बजेटको आकार ४३ अर्ब ६ करोड बढाएका छन् ।

चालू आवको तुलनामा आगामी वर्षको लागि बागमती प्रदेश सरकारले सबैभन्दा धेरै १३ अर्ब २१ करोड बढाएको छ । प्रदेश १ ले ७ अर्ब २७ करोड बढाएर बजेट प्रस्तुत गरेको छ । त्यस्तै मदेश प्रदेशले बजेटको आकार १३ अर्ब ९ करोड बढाएको छ भने गण्डकी प्रदेशले ५ अर्ब ८७ करोड बढाएको छ । लुम्बिनी प्रदेशले १ अर्ब ६८ करोड बढाएको छ । कर्णाली प्रदेशको बजेट भने घटेको छ । चालू आवमा ३६ अर्ब ५४ करोड रहेको बजेट आगामी आवको लागि भने ३२ अर्ब ६१ करोड प्रस्तुत गरिएको छ । त्यस्तै सुदूरपश्चिमको बजेटको आकार ६ अर्ब ४१ करोडले बढेको छ ।