तनहुँको एक पालिका प्रमुखको कार्यकक्षमा प्रधानमन्त्री देउवा भन्दा माथि ओलीको तस्बिर

तनहुँ । तनहुँको एक पालिकाको प्रमुखले आफ्नो कार्यकक्षमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेको पाइएको छ । एक राजनितीक पार्टीका अध्यक्षको तस्विर राखेको भन्दै सेवाग्राहीले विरोध जनाएका छन् ।

भिमाद नगरपालिकाको प्रमुख दधिराज सुवेदीको कार्यकक्षमा अध्यक्ष ओलीको तस्बिर राखिएको छ । सुवेदीको कार्यकक्षमा राष्ट्रपति पछि पाटी अध्यक्ष ओलीको र त्यसपछि मात्र प्रधानमन्त्रीको तस्बिर राखेको पाइएको छ ।

नेपाली काँग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले नगर प्रमुख कार्यकक्षमा एमाले अध्यक्ष ओलीको फोटो देखेपछि एमालेको पार्टी कार्यालय जस्तो अनुभूति भएको बताउनुभयो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको समेत अपमान हुने गरि रोलक्रममा दोस्रो स्थानमा एमाले अध्यक्ष केपी शर्मा ओली तस्बिर राख्ने जुन कार्य भएको छ त्यो अत्यन्त निन्दनीय छ’ अधिकारीले भन्नुभयो । नगर प्रमुख सुवेदीलाई कार्यकक्षबाट एमाले अध्यक्ष ओलीको तस्बिर तत्काल हटाउन समेत आग्रह उहाँले आग्रह गर्नु भयो ।

नगर प्रमुख सुवेदीले आफू निर्वाचित हुनु अघि नै कार्यकक्षमा सो तस्बिर राखिएको र हटाउने क्रममा आफु रहेको बताउनुभयो । निवर्तमान प्रमुख मेखबहादुर थापाको पालामा राखिएको र पार्टी अध्यक्षको तस्बिर राख्न हुन्छ की हुँदैन थाहा नभएर नहटाएको बताउनुभयो । ‘तत्कालिन प्रमुख प्रशसकीय अधिकृत थमनसिंह थापासँग सोधेको र उहाँले नगर प्रमुखले नै राखेको बताउनु भयो’ नगर प्रमुख सुवेदी भन्नुभयो । ‘राख्न मिल्ने वा नमिल्ने मलार्य थाहा भएन नमिल्ने भए हटाउने प्रतिबद्धता गर्दछु’ सुवेदीले भन्नुभयो ।

सामाजिक सञ्जालहरुमा यस तस्बिर राखेर नगर प्रमुख सुवेदीको व्यापक आलोचना गरिएको छ । सुवेदी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी नगर प्रमुख बन्नु भएको थियो । नेपाली काँग्रेस तनहुँ सचिव लक्ष्मीभक्त खनालले नगर प्रमुखले पार्टी अध्यक्षको फोटो राख्न मिल्दैन भन्ने नजान्नु हाँस्यास्पद भएको बताउनुभयो । ‘थाहा नभएर भन्दा पनि पार्टी प्रति बफादार छु भनि देखाउन राखेको महशुश गरेको छु,’ सचिव खनालले भन्नुभयो ।

रासस