आज च्याम्पियन्स लिग उपाधिका लागि लिभरपुल र रियल भिड्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ । फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

उपाधिका लागि लिभरपुल र रियल मैदान उत्रदै गर्दा विश्वको ध्यान पेरिसमा केन्द्रित हुनेछ । किनकि युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् । स्टेट डे फ्रान्समा दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।

लिभरपुल यस सिजन तेस्रो उपाधिको खोजीमा छ । ह्याट्रिक उपाधिका लागि लिभरपुल च्याम्पियन्स लिग जित्न चाहन्छ । लिभरपुलका जर्मन प्रशिक्षक क्लोप फाइनलका लागि टिम राम्रो अवस्थामा रहेको बताउछन् । ‘हामी सबै राम्रो मुडमा छौं । यदि तपाई स्वस्थ हुनुहुन्छ भने केटाहरू पक्कै छन् । जीवनले बारम्बार अवसरहरू दिन्छ । यो च्याम्पियन्स लिगको फाइनल हो,’ क्लोप भन्छन् ।

लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । तर, क्लोप च्याम्पियन्स लिगको उपाधि जित्न कठिन रहने गरेको दाबी गर्छन् । ‘पाँच वर्षमा तीन फाइनलहरू असाधारण छन् किनभने यो प्रतियोगिता साँच्चै गाह्रो छ । तर, यो वास्तवमै विशेष छ,’ क्लोप थप्छन् ।

ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ । पेरिसमा रियल आफ्नो इतिहासलाई कायम राख्न चाहन्छ । जसका लागि टोली तयार भएको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी बताउँछन् । ‘दुई उत्कृष्ट टोलीहरू एकअर्काको सामना गर्दैछन् । साहस र व्यक्तित्व भएकोले अन्तमा जित्नेछ,’ एन्सेलोटीले फाइनल अघि भनेका छन् ।

युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ भेट भएको छ । त्यसमध्ये रियल चारमा विजयी रहेको छ भने लिभरपुलले तीन खेल जितेको छ । यी दुई टिमको अन्तिम भेट सन् २०२०–२०२१ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भएको थियो ।

च्याम्पियन्स लिगको फाइलनमा भने दुई टिमबीचको यो तेस्रो भेट हो । त्यसमध्ये सन् १९८०–१९८१ मा लिभरपुल ३–१ ले विजयी रहेको थियो भने सन् २०१७–२०१८ मा रियल ३–१ ले विजयी भएको थियो ।

‘फाइनलको मज्जा लिने हो’- एन्सिलोटी

म्याड्रिड — कार्लो एन्सेलोट्टी जत्तिको अनुभवी र शान्त प्रशिक्षक बिरलै पाइएला । रियल म्याड्रिडले उनलाई सफलताकै लागि भनेर फिर्ता बोलाएको थियो । र, सफलता पनि मिलेको छ रियललाई । यसकै एउटा कडी हुनेछ रियलले शनिबार खेल्ने युरोपेली च्याम्पियन्स लिगको फाइनल । अहिलेसम्म कोही पनि प्रशिक्षकले पाँचपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको कीर्तिमान छैन । जुन अब यी ६२ वर्षीय प्रशिक्षकमा नाममा बन्ने छ ।

अझ पछिल्ला चार फाइनलमध्ये तीनमा उनको टिम नै विजयी छ । यसमध्ये पनि पहिलो सफलता सन् २००३ मा मिलेको थियो । दुई दशकजति अगाडि एसी मिलानका लागि । तर, उनी जत्तिका प्रशिक्षक भने च्याम्पियन्स लिगको फाइनल भनेपछि आत्तिने रहेछन् । उनले ठट्यौलो पारामा भनेका छन्, ‘खेल अगाडिको ३–४ घण्टा वास्तवमै निकै तनावपूर्ण हुन्छ । शारीरिक रूपमा पनि यो समय गाह्रो हुन्छ । यसपल्ट मैले अलि बढी नै तनाव बेहोरेको छु ।’

खचाखच भरिएको मिडिया कन्फ्रेन्समा उनले थपे, ‘म त खेलको तनावले पसिना–पसिना हुने गर्छु । मनको ढुकढुकी बढ्ने गर्छ र मनमा अनेक खराब विचार आउने गर्छन् । फुटबलमा यस्तो स्थिति हुँदा त्यसबाट बच्नका लागि अहिलेसम्म कुनै पनि औषधि बनेको छैन । हाम्रो काम भनेको त्यसलाई सामना गर्ने नै हो ।’ उनले यस्तोभन्दा पत्रकारमाझ हाँसो फुटेको थियो । यसै क्रममा उनले थपे, ‘फाइनलमा खेल हेर्ने र त्यसको मज्जा लिने त हो ।’

अझ उनी भन्छन्, ‘हामी शान्त र चुपचाप छौं । लिभरपुल पनि शान्त र चुपचाप छ । सबै खुसी छन् । निश्चित छ फाइनलका बेला रमाइलो वातावरण रहनेछ । खेल जति–जति नजिक आउने गर्छ, सबैको तनाव बढ्ने गर्छ । खासमा यो स्वाभाविक छ, सामान्य छ । अहिले तत्काल हामीले सोच्ने भनेको एक अर्को फाइनल खेल्न लागेका छौं भनेर मात्र हो ।’ तर यत्तिभन्दा पनि उनी आफ्ना खेलाडीलाई राम्रो खेल्न प्रेरित गर्न माहिर छन् ।

रियलले यसपल्ट स्पेनी ला लिगा चार चरणको खेल बाँकी छँदै जितेको थियो । लिग टुंगिँदा रियललाई दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि १३ अंकको अग्रता प्राप्त थियो । केही महिनाअगाडि मात्र रियलमा रक्षापंक्तिको समस्या थियो, सर्जियो रामोस र राफेल भाराने गएपछि । त्यसलाई पनि एन्सेलोट्टीले ठीक पारिसकेका छन् । अहिलेको टिममा उनले एक नयाँ स्टार पनि खोजेका छन् । उनी हुन् भिनिसियस जुनियर । उनी भर्खर २१ वर्षमात्र पुगेका ब्राजिली खेलाडी ।

यी खेलाडीलाई लिएर एन्सेलोट्टी भन्छन्, भिनिसियस जुनियरको खुट्टामै मोटरबाइक छ जस्तो लाग्छ । त्यसमाथि रियलसँग करिम बेन्जेमा जस्ता खेलाडी पनि छन् । एन्सेलोट्टी भन्छन्, ‘क्लोप र थोमस टचेल त्यस्ता जर्मन रणनीतिकार हुन्, जसले आ–आफ्नो टिममा गहनता ल्याएका छन् । मलाई के लाग्छ भने म आफैं पनि पुरानो पुस्ताका प्रशिक्षकमा पर्दिनँ । मैले फुटबलमा आएको परिवर्तन आफ्नै आँखाले देखेको छु । फुटबल मैदानमा मात्र होइन, दिमागमा पनि खेलिन्छ ।’

‘लिभरपुलको यात्रा जादु होइन’ – क्लोप

रियल म्याड्रिड कीर्तिमानी १४ औं पटक च्याम्पियन बन्ने होडमा हुँदा लिभरपुल बदला लिने दाउमा हुनेछ ।

लिभरपुल — योर्गन क्लोप भन्छन्, ‘हामी त्यसै युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेका होइनौं, यसमा जादु छैन । हामी यसका लागि हकदार छौं ।’ स्टाडे डे फ्रान्समा शनिबार हुने फाइनलमा लिभरपुलको बाटोमा चुनौती तेर्साएर बसेको हुनेछ रियल म्याड्रिड । चार वर्षअगाडि पनि लिभरपुलले च्याम्पियन्स लिग खेलेको थियो । क्लबका गुरु थिए तिनै क्लोप । किभमा सम्पन्न उक्त फाइनलमा लिभरपुल उही रियलसँग ३–१ ले पराजित रह्यो ।

त्यसमा गोलरक्षक लोरिस कुरियसले दुई ठूला गल्ती गरे अनि मोहम्मद सलाह चोट बोक्दै चाँडै मैदान छाड्न बाध्य रहे । क्लोप त्यो खेल सम्झेर अहिले भन्छन्, ‘त्यो रात हाम्रा लागि खुबै पीडादायी रह्यो ।’ तर त्यसको एक वर्षपछि नै लिभरपुलका लागि खुसी फर्केको थियो । म्याड्रिडमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई हराएर छैटौंपल्ट च्याम्पियन्स लिग जित्यो । त्यो फाइनलका लागि लिभरपुलले आफ्ना सबै समस्या सच्याएको थियो । त्यसपछि त क्लोपले लिभरपुलको लिग उपाधिका लागि ३० वर्षको पखाईमा पनि पूर्णविराम लगाए । सन् २०२० मा लिभरपुल इंग्लिस प्रिमियर लिग जित्न पनि सफल रह्यो । लिभरपुल आएबित्तिकै क्लोप भन्थे, ‘यदि म लिभरपुलमा चार वर्ष रहें भने कम्तीमा एक उपाधि जित्नेमा म विश्वस्त छु ।’

अहिले त्यसो भनेको पनि ७ वर्ष भइसक्यो । अहिले तत्काल लिभरपुल एकै सिजन तीन ठूला उपाधि जित्ने संघारमा छ । त्यसमध्ये लिग कप र एफए कप त जितिसकेको छ । शनिबार फाइनल खेल लिभरपुलले यो सिजन खेल्ने ६३ औं खेल हुनेछ । त्यसको अर्थ लिभरपुलले आफू सहभागी सबै प्रतियोगिताको अन्तिम खेल खेलेको छ । घरका दुई कप जिते पनि लिरभपुललाई इंग्लिस प्रिमियर लिग जित्न म्यानचेस्टर सिटीले रोकेको थियो । व्यवस्थापक क्लोप भन्छन्, ‘च्याम्पियन्स लिग सफलताविना पनि हाम्रा लागि यो सिजन राम्रो रहने छ । यदि हामी च्याम्पियन्स लिग जित्न सक्यौं भने हाम्रा लागि यो सिजन वास्तवमै उत्कृष्ट रहनेछ ।’

लिभरपुलको यो यात्राको श्रेय उनै क्लोपलाई मात्र जान्न । यसका लागि धेरैलाई धन्यवाद दिनुपर्ने हुन्छ । त्यसमध्ये एक हुन्, क्लब छाड्न लागेको स्पोर्टिङ डाइरेक्टर मिचेल एडवार्ड्स । उनले ट्रान्सफर मार्केटमा खुबै मज्जाले खेल्दै एकपछि अर्को उत्कृष्ट खेलाडी अनुबन्ध गर्न मदत गरेका छन् । लिभरपुलको यो सफलतामा खेलाडीको योगदान त झन कसरी बिर्सन सकिन्छ र ? पूर्व खेलाडी जिमी कारिघर भन्छन्, ‘सबैभन्दा ठूलो श्रेय त खेलाडीलाई नै जान्छ ।’ उनी थप्छन्, ‘तर लिभरपुलको सबैभन्दा माथिल्लो पदमा त्यस्ता व्यवस्थापक छन्, जसलाई विशेष मान्न सकिन्छ ।’

लिभरपुल सम्हालेयता क्लोपले ६ ठूला उपाधि जितिसकेका छन् । यदि यस बाटोमा लिभरपुललाई बाधा तेर्स्याउने पेप ग्वार्डिओलाको सिटी नभएको भए अझ के के हुन्थ्यो, त्यो कल्पनामात्र गर्न सकिन्छ । क्लबका पूर्वकप्तान स्टेफेन जेरार्डले ठीकै भनेका छन्, ‘क्लोप त्यस्ता फुटबल प्रशिक्षक हुन्, जसलाई लाखौंमा एक पाइन्छ ।’