पोखरा महानगरमा नेकपा एसका धनराज र उपमेयरमा एमालेको मन्जु देबी बिजयी

पोखरा — देशकै ठूलो महानगर पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै सत्तारुढ पाँच दलीय गठबन्धनको समर्थनमा उनी निर्वाचित भएका हुन् । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई हराइन् । गुरुङले ६० हजार ५ सय ४६ मत र रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याउँदा ३ हजार ८ सय ८३ मतको अन्तर भयो । निर्वाचन भएको १२औं दिन बुधबार बिहान १ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।

पहिला ३३ मध्ये २२ वटा वडा जितेको एमाले यसपल्ट ९ वटामा खुम्चिएको छ । कांग्रेसले पहिला ११ वटा जितेकोमा यसपल्ट २३ वटा पुर्‍याएको छ । पोखराको वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित भएका छन् । उनी कांग्रेस र माओवादी केन्द्रको समर्थनमा चुनाव लडेका थिए ।

२०३९ मा अनेरास्ववियूबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका आचार्य माले, एमाले हुँदै अघि बढे । पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति, अखिलको जिल्ला अध्यक्ष, पश्चिमाञ्चल अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य समेत भए । नेकपा मालेबाट पार्टी राजनीति सुरु गरेका उनी एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रीय अध्यक्ष बने । लायन्स क्लब अन्तर्राष्ट्रियको गभर्नर बनेर समाजसेवामा सक्रिय भए ।

०७८ मा पार्टी विभाजन हुँदा उनी माधवकुमार नेपालसँगै उभिए । एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्की अध्यक्ष भएर पार्टी हाँके । प्रकाशन गृह, जलविद्युत्‌मा लगानी गरेर सफल व्यवसायी बनेका उनी मेयर निर्वाचित भएर राजनीतिमा समेत सफलताको स्वाद चाखे ।

कृष्ण थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यसपछि उनले ०७० मा संविधानसभाको चुनावमा टिकट पाएर निर्वाचित हुन सकेनन् । ०७४ मा प्रदेश निर्वाचन क्षेत्र २ (क) बाट चुनाव लडेर विजयी भए । उनी आफ्नो क्षेत्र २(ख) छोडेर अर्को निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । कार्यकाल ६ महिना बाँकी छँदै फेरि पोखरा महानगरको मेयरमा भिडेका हुन् ।

मेयरमा निर्वाचित भएपछि आचार्यले छोटो प्रतिक्रिया दिँदै जन्मदेखि मृत्युसम्मका दर्ता प्रक्रिया नि:शुल्क गर्ने पहिलो घोषणा हुने बताए । उपमेयरमा पराजय व्यहोरेकी कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई आचार्यले महानगरमा सल्लाहकारका रूपमा सँगै राखेर लैजाने बताएका छन् ।

पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ (६८.९५) प्रतिशत मत खसेको थियो ।

मेयरमा २३ जना र उपमेयरमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए । मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ३ हजार ३० मत प्राप्त गरे । खसेको मतमध्ये २० हजार ७ सय ८१ मत बदर भयो ।