सांसदबाट राजीनामा दिएर मेयर उठेकाहरूलाई मतदाताले पत्याएनन्
काठमाडौं: मेयरको उम्मेदवार बन्न मधेश प्रदेश सभाबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’ उनी सर्लाही क्षेत्र ४ (ख) का प्रदेश सभा सदस्य थिए। त्यता राजीनामा बुझाएर उनी सर्लाहीको गोडैता नगरपालिकाको मेयरको उम्मेदवार बने। तर पराजित भए । लोसपाका देवेन्द्रकुमार यादव पाँच हजार २९४ मतले विजयी हुँदा कांग्रेसबाट प्रमुखमा प्रत्यासी कुशवाहाले चार हजार ७५२ मत मात्र ल्याए।
उनी मात्रै हैन प्रदेश सभाका सदस्य पदबाट राजीनामा दिएर स्थानीय तहको मेयरको प्रतिस्पर्धामा उत्रिएका अधिकांश नेताहरू पराजित भएका छन् । अन्तिम नतिजा आउन बाँकी पूर्व सांसदहरू पनि प्रतिस्पर्धामा दोस्रो स्थानमा छन् ।
मधेस प्रदेशको सांसद शेख अबुलकलाम आजाद सांसद पदबाट राजीनामा दिएर मेयर पदका लागि चुनावी मैदानमा छन् । २०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र चुनाव जितेका उनी पछि जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरे ।
उनले पनि जनताको मागले नगर प्रमुखमा उम्मेदवारी दिएको दावी गरेका थिए । जसपाबाट रौतहटको गढीमाई नगरपालिकामा मेयरको उम्मेदवार बनेका उनी मतगणनाको सुरुमा दोस्रो स्थानमा छन् । कांग्रेसका श्यामप्रसाद यादवले १९० मतले लिड गरिरहेका छन् । जसपाका आजादले ७३ मत ल्याएका छन् ।
काठमाडौं महानगरपालिकामा एमालेको तर्फबाट मेयरका प्रत्यासी केशव स्थापित बागमती प्रदेश सांसदबाट राजीनामा गरेर स्थानीय तहको चुनावी मैदानमा आएका हुन् । २५ वर्ष पहिले काठमाडौंको प्रमुख भइसकेका स्थापितले महानगरको मेयरमा प्रतिस्पर्धी नै नभएको दावी गरेका थिए । तर उनी जारी मतगणनामा दोस्रो स्थानमा छन्। काठमाडौमा ५९ हजार ९७ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले २३ हजार ५८४ मत पाएर अग्रता लिइरहेका छन्। स्थापित १२ हजार ३८० मतले दोस्रो स्थानमा छन् ।
पोखरा महानगरपालिकामा एमालेबाटै उम्मेदवारी दिएका कृष्ण थापा पनि गण्डकी प्रदेशका निवर्तमान सांसद हुन् । जारी मतगणनामा थापा दोस्रो स्थानमा छन् । पोखरामा गठबन्धन तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २१ हजार ८८० मत ल्याएर लिड गरिहँदा थापाको १९ हजार ३८८ मत छ । उनी दोस्रो स्थानमा छन् ।
प्रदेश सांसदबाट राजीनामा बुझाएर गोपालचन्द्र बुढाथोकी पनि मेचीनगर नगरपालिकाको प्रमुख पदका प्रत्यासी बनेका छन् । एमालेबाट उम्मेदवार भएका उनले भने पाँच हजार ५९२ मत सहित लिड गरिरहेका छन् । कांग्रेसका इन्द्रबहादुर बुढाथोकी पाँच हजार १५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
प्रदेश १ का अर्का सांसद काजीमान कागतेले पनि सांसदबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । एमालेबाट नगर प्रमुख बन्न दौडमा रहका उनी दोस्रो स्थानमा छन् । एकीकृत समाजवादीका रणबहादुर राईले नौ हजार ५० मत ल्याएर लिड गरिरहँदा एमालेका उम्मेदवार कागतेले सात हजार ८६७ मत ल्याएका छन् ।
लुम्बिनी प्रदेशका सांसद दीपेश थारू पनि सांसद पदबाट राजीनामा दिएर बर्दियाको राजापुर नगरपालिकाको प्रमुख हुने दौडमा छन्। माओवादीबाट उम्मेदवार बनेका थारू नौ हजार ८०७ मत सहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका दीपकजङ्ग शाहले नौ हजार ७६० मत ल्याएका थिए।