विदेश पढ्नलाई नेपालबाट साढे ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरियो

विदेश अध्ययनमा ठूलो रकम बाहिरिए पनि उनीहरुबाट रेमिट्यान्स आप्रवाहमा न्यून योगदान

काठमाडौँ — दोस्रो चरणको लकडाउन खुलेयता विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मुलुकबाट विदेशमा अध्ययन शीर्षकमा ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त रकम १०६.३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ९ महिनामा उक्त रकम करिब १४ प्रतिशत घटेको देखिएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशमा अध्ययन खर्च गत साउनमा १४५.४, भदौमा १५४.२ र असोजमा १०१.६ प्रतिशत बढेको थियो । त्यसपछि पनि बाहिरिने रकम बढिरहेको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञामा विदेशमा आउजाउ सहज थिएन । विश्वविद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेका थिए । निषेधाज्ञा हटेपछि विश्वविद्यालयहरू खुले, आउजाउ पनि सहज भएको लगायत कारण विदेशमा अध्ययन गर्न जाने क्रम बढेको हो ।

राष्ट्र बैंकका अधिकारीहरू कोभिडअघिका महिनाको तुलनामा पछिका महिनामा विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको बताउँछन् । ‘एकातिर सरकार र राष्ट्र बैंकले केही नीतिगत व्यवस्थामार्फत आयात कम गर्ने रणनीति अघि सारेका छन् । तर, अर्कोतिर विदेशमा अध्ययन, भ्रमणलगायत शीर्षकमा अप्रत्याशित खर्च बढेको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘आउँदा महिनामा पनि उल्लिखित शीर्षकमा यही अनुपातमा रकम बाहिरिँदै गए यो पनि विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण हुन सक्छ ।’

पछिल्ला महिनामा खास गरी चीन, अमेरिका, अस्ट्रेलिया, जापान, भारतलगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी संख्या बढेको छ । बढ्दो आयात र घट्दो रेमिट्यान्सका कारण मुलुकको भुक्तानी सन्तुलन घाटामा रहेको, विदेशी मुद्रा सञ्चिति घटिरहेको समयमा विदेशमा अध्ययन र भ्रमणबापत हुने खर्च पनि बढ्दो भएकाले अर्थतन्त्रमा सुधार ल्याउन सरकारलाई अप्ठ्यारो भएको छ । हरेक महिना विदेशमा अध्ययन र भ्रमणबापत खर्च बढेकाले भुक्तानी सन्तुलन स्थिति थप दबाबमा हुने जानकारहरूको भनाइ छ ।

विदेश अध्ययनका लागि ठूलो रकम बाहिरिन नदिन नीति निर्माता तहमा पटकपटक छलफल हुने गरेको छ तर कुनै निर्णय भएको छैन । पहिले भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रबाट रेमिट्यान्स बढ्न थालेको र विदेशमा अध्ययन गरी स्वदेश फर्किने प्रवृत्ति सुरु भएको भन्दै विदेशमा गरिने अध्ययनलाई कडाइ गर्ने बेला भइनसकेको निष्कर्ष निकालिएको थियो । कोभिडपछि शोधनान्तर घाटा बढ्दै गएको, रेमिट्यान्स बढ्न नसकेको, विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको लगायत कारण अहिले भने धेरै विदेशी मुद्रा बाहिरिने स्रोतबारे बहस सुरु भएको छ ।

ठूलो रकम खर्चेर विदेश गए पनि ती जनशक्तिबाट रेमिट्यान्स आप्रवाहमा न्यून योगदान पुगेको तथ्यांकले देखाएको छ । अध्ययनका लागि धेरै नेपालीको गन्तव्य अमेरिका, जापान, अस्ट्रेलिया, क्यानाडालगायत मुलुकबाट कुल रेमिट्यान्समा थोरै रकम (हिस्सा) मात्र आउनुले पनि यो पुष्टि हुने विज्ञहरू बताउँछन् । ठूला मुलुकहमा बैंक र रेमिट्यान्स कम्पनीहरूको सम्पर्क कार्यालय खोल्न जटिल कानुनी व्यवस्था रहेकाले पनि अपेक्षित रेमिट्यान्स भित्र्याउन समस्या भएको उनीहरूले बताए । यस कारण ठूला मुलुकबाट अपेक्षित रेमिट्यान्स भित्र्याउन नसकिएको र हुन्डीलगायत अवैधानिक माध्यमले प्रश्रय पाइरहेको रेमिट्यान्स कम्पनीका सञ्चालकको भनाइ छ ।