६२५ पालिकामध्ये कुन पार्टी कतिऔ स्थानमा [पच्छिलो विवरण]

काठमाडौँ — आइतबार बिहान सवा १० बजेसम्म ६ सय २५ स्थानीय तहमा मतगणना जारी रहेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा गरी सबै महानगरमा मतगणना जारी रहेको छ । त्यस्तै, ११ वटै उपमहानगरपालिकामा पनि मतगणना भइरहेको छ ।

पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसले पालिका प्रमुख/अध्यक्षमा २ सय ६५ स्थानीय तहमा अग्रता लिइरहेको छ । कांग्रेसलाई एमालेले प्रमुख/अध्यक्षमा १ सय ८२ स्थानीय तहमा अग्रता लिएर पछ्याइरहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । माओवादीले प्रमुख/अध्यक्षमा १ सय ७ स्थानीय तहमा अग्रता लिएको छ ।

चौथो स्थानमा जनता समाजवादी पार्टी रहेको छ । उसले २६ स्थानीय तहका अध्यक्ष/प्रमुखमा अग्रता बनाएको छ । एकीकृत समाजवादी पार्टीले भने १२ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ६ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलले २७ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता बनाएका छन् ।

उपप्रमुख/उपाध्यक्षमध्ये पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले २ सय २३ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएको छ । उपप्रमुख/उपाध्यक्षमा अग्रता लिने दोस्रो स्थानमा एमाले रहेको छ । एमालेले १ सय ९७ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) १ सय २५ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीले १७, जसपाले २३, लोसपाले ६ र अन्य तथा स्वतन्त्रले २२ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएका छन् ।

हालसम्म २० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये अग्रस्थानमा एमाले रहेको छ । एमालेले ८ स्थानीय तहका प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ । त्यस्तै, कांग्रेसले ७, माओवादीले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहका प्रमुख/अध्यक्ष पदमा जित हासिल गरेको छ ।

उपप्रमुख/उपाध्यक्षतर्फ कांग्रेसले ८ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ७, माओवादीले २, एकीकृत समाजवादीले २ र अन्यले २ स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

काठमाडौं महानगरमा ६४७३ मत गणना, बालेन साह १०३० मतले अगाडि

त्यस्तै काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १०३० मत प्राप्‍त गरी अग्रता कायमै राखेका छन् ।

आइतबार बिहान ११ बजेसम्मको मतपरिणामअनुसार ६४७३ मत गणना हुँदा साहले २४५७ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११६८ मत प्राप्त गरेकी छिन् ।