भारतीय प्रधानमन्त्री मोदीको स्वागतको लागि लुम्बिनीमा तयारी पूरा
लुम्बिनी : बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । २५६६ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदीको लुम्बिनी भ्रमण हुन लागेको हो । मोदी भारतीय शहर कुशीनगरबाट हेलिकोप्टरमार्फत सोमबार मध्याह्न लुम्बिनी अवतरण गर्ने तालिका छ। मोदीले लुम्बिनीमा बुद्धजयन्तीको मुल समारोहमा सम्बोधन गर्नेछन् । त्यस्तै भारतले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
लुम्बिनीमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच दुईपक्षीय वार्ता हुनेछ। त्यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट हुनेछ। भेटघाट लुम्बिनीस्थित एक होटलमा हुने बताइएको छ । मोदी आउने तयारी पूरा गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराईले सजावटसहितका कामहरु सकिएको बताए। मोदीले मायादेवी मन्दिरमा पुजाआजा गर्ने छन् । त्यसका लाग मायादेवी मन्दिर, बुद्धजयन्तीको मुल समारोह हुने ५ हजार क्षमताका ध्यान केन्द्रलाई झकिझकाउ पारिएको छ । लुम्बिनीको २ नम्बरदेखि ९ नम्बर गेटतर्फको बटोलाई दुई देश र बौद्ध झण्डा राखेर सजाइएको छ। प्रवेशद्वारहरु निर्माण गरिएको छ ।
मोदीसहित ४ वटा हेलिकप्टर भारतबाट नेपाल आउनेछन् । भारतीय सेनाले लुम्बिनीमा परीक्षण अवतरण गरिसकेको छ। ध्यान केन्द्र अगाडि ४ वटा नयाँ हेलिप्याड निर्माण भएका छन् । ध्यानकेन्द्रको उद्घाटन भने सोमबार विहान ९ बजे प्रधानमन्त्री देउवाले गर्ने कार्यक्रम छ। त्यसअघि देउवाले भैरहवास्थित अन्र्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहानै प्रधानमन्त्रीसहितको विशिष्ट पाहुनाको आवागन हुने विकास कोषले जनाएको छ ।
मोदी भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री खड्का र पर्यटन, नागरिक उड्ययन तथा संस्कृति मन्त्री प्रेम आले आज नै लुम्बिनी आउँदैछन् ।
लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संयन्त्रले आइतबार विहान भिभिआईपी भ्रमणको डेमोस्ट्रसन गरेका छन् । लुम्बिनीमा सुरक्षाका लागि भारतीयसहित आर्मी, शसस्त्र र नेपाली प्रहरी परिचालन गरिएको छ। भैरहवा विमानस्थलदेखि लुम्बिनीसम्म नै सुरक्षाकर्मी राखिएका छन् ।
बुद्धजयन्तीमा छोटो कार्यक्रम
लुम्बिनीमा यसअघिका बुद्धजयन्ती धुमधाम हुने गरेका थिए। अहिले भने आम नागरिकले मुल समारोहमा पहुँच पाउने छैनन् । विकास कोषले बढीमा २ हजार जना सहभागि हुने तयारी गरेको छ । त्यसका लागि पास प्राप्त व्यक्तिहरुमात्रै सहभागी हुन पाउनेछन् ।
मुल समारोह संस्कृति मन्त्री तथा विकास कोषका अध्यक्ष आलेको अध्यक्षतामा हुनेछ। कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । मुल समारोहमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले विशेष सम्बोधन गर्नेछन्। बोल्ने तालिकामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई समय दिइएको छ। संस्कृति मन्त्री आलेले धन्यवाद ज्ञापन गरेपछि मुल समारोह सकिनेछ ।
दुई प्रधानमन्त्रीबीच पत्रकार भेटघाट
बुद्ध जयन्तीको मुल समारोह सकिएपछि मोदी जर्मन विहारको छेउमा ३ अर्ब लागतमा बन्न लागेको भारतीय बौद्ध विहारको शिलान्यास गर्नेछन् । त्यो कार्यक्रम सकिएपछि दुई प्रधानमन्त्रीबीच भेटघाट हुने बताइएको छ । कार्यक्रम तालिका फेरबदल नभएमा दुई प्रधानमन्त्रीबीच पत्रकार भेटघाट हुनेछ । जुन होटल पवनमा हुने बताइएको छ। मोदीले स्वागत भोजन पनि पवन मै गर्ने तयारी छ ।
सर्वसाधारणका लागि मायादेवी बन्द
विशिष्ट पाहुनाहरुको भ्रमण हुने भएपछि विहान ८ बजेदेखि दिउसो १ बजेसम्म मायादेवी मन्दीरमा सर्बसाधारणलाई प्रवेश निषेध गरिएको छ । विकास कोषले सूचना जारी गरेर विहान ८ बजेअघि र १ बजेपछि मात्रै मायादेवी भ्रमणमा आउने कोषले आग्रह गरेको हो ।