उपाधि होडमा लिभरपुललाई धक्का, म्यान्चेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुललाई धक्का लागेको छ। शनिबार भएको खेलमा लिभरपुल टोटनह्याम हट्सपुरसँग १–१ गोलको बराबरीमा रोकिएसँगै लिभरपुलले महत्त्वपूर्ण भिडन्तमा २ अंक गुमायो ।

त्यस्तै शीर्ष चारको दौडबाट बाहिरिसकेको म्यानचेस्टर युनाइटेड अर्को फराकिलो हारको सामना गर्न बाध्य भयो। युनाइटेड घरेलु टोली ब्राइटनसँग ४–० ले पराजित भएको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा टोटन ह्यामका सन ह्युङ मिनले एक गोल गर्दा लिभरपुलका लागि लुइस डियाजले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५६औं मिनेटमा सनको गोलबाट टोटन ह्यामले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले रेयान सेसेग्ननको पासमा गोल गर्न सफल भएका थिए ।

७४औं मिनेटमा लुइस डियाजले थियागो अलकान्तराको पासलाई सदुपयोग गर्दा सम्भावित हारबाट लिभरपुल जोगिएको थियो। बराबरीपछि लिभरपुल शीर्षस्थानमा उक्लिने मौका गुमायो । लिभरपुलको ३६ खेलबाट ८३ अंक छ। समान ८३ अंक नै रहे पनि म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ । टोटेनहम ३५ खेलबाट ६२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै शनिबार नै दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा भएको खेलमा म्यानचेस्टर युनाइटेड अप्रत्यासित रूपमा फराकिलो हारको सिकार भयो । युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोलीका मोइसेस काइसेडो, मार्क कुकुरेल्ला, पास्कल ग्रस र लियान्द्रो ट्रोससार्डले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राइटनले दोस्रो हाफमा तीन गोल थप्दै फराकिलो जित निकाल्न सफल भएको थियो ।

जितसँगै ब्राइटन ३६ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा रहेको छ। पराजित युनाइटेड ३७ खेलबाट ५८ अंक जोडेर छैटौँ स्थानमा छ । अब युनाइटेडले एक खेल खेल्न बाँकी रहँदा अर्को सिजनको लागि युरोपा लिग छनोट पनि न्यू बनेको छ ।