सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल र नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह

काठमाडौँ — आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक पदमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि आजबाट पूरा हुँदै छ । उनी भोलिबाट अवकाशमा जाने छन् ।

गत वैशाख ४ गते अर्याल एआईजी बढुवामा सिफारिस भएका थिए । अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी चिह्न पाइसकेका थिए । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् । प्रहरी महानिरीक्षकको कार्यकाल ४ वर्षको रहने व्यवस्था छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई बढुवा गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री अवकाशमा गएपछि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गरेको हो ।

२०४९ चैतमा सेवा प्रवेश गरेका तर एआईजी, डीआईजी र एसएसपीमा फरकफरक मितिमा बढुवा भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठता र वरीयता मिचेर महानिरीक्षक नियुक्त गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै वरीयताका आधारमा नियुक्त गर्न सुझाव दिए पनि बालुवाटारकै दबाबमा सिंहलाई महानिरीक्षकमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह गत चैत ७ मा एआईजीमा बढुवा भएका थिए ।