सातामा दुई दिन बिदा दिने सरकारकाे निर्णय, विद्यालय र क्याम्पस २ दिन नै बिदा
जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम
काठमाडौँ — सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ ।
मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा हुने रायसिना डायलगमा राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै, बैठकले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डीआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको पैठारीमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।
विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा
त्यस्तै सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।
‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।
विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।