क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङ तमू समाज केन्ट यूकेको अध्यक्षमा निर्बिरोध निर्बाचित
गोलमान गुरुङ
लन्डन २४ अप्रिल २०२२ । तमु समाज केन्ट यूकेको अध्यक्षमा क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन । शनिबार आशफोर्डको सेन्ट फ्रान्सिस चर्च कम्युनिटी हलमा सम्पन्न समाजको १४ औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले गुरुङलाई अध्यक्ष पदमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा गोलमान गुरुङ, द्वितीय उपाध्यक्षमा ममता गुरुङ, महासचिवमा तोरण गुरुङ, कोषाध्यक्षमा क्याप्टेन रिटायर्ड भिष्मराज गुरुङ, सहकोषाध्यक्षमा सुनिता गुरुङ, साँस्कृतिक संयोजकमा इन्द्र गुरुङ, साँस्कृतिक सहसंयोजकमा पबित्र गुरुङ र उमा गुरुङ, महिला संयोजकमा तारा गुरुङ, महिला सहसंयोजकमा हीरा गुरुङ र देवी गुरुङ, मिडिया अनि वेबसाइटमा होम गुरुङ, खेलकुद सहसंयोजकमा सन्तोष गुरुङ, जेष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा शेरबहादुर गुरुङ र यूवा संयोजकमा डा. सुदीक्षा गुरुङ निर्विरोध निर्वाचित भएका छन । त्यस्तै, कार्यसमिति सदस्यहरुमा गज गुरुङ, प्रेमबहादुर गुरुङ, कुमार गुरुङ, देबी गुरुङ र हरि गुरुङ छन । रिक्त पदहरुमा नवगठित कार्यलमितिले मनोनयन गर्ने बताइएको छ । यसअघि तमु समाज केन्ट यूकेलाई ७ जना अध्यक्षहरुले नेतृत्व गरिसकेका छन ।
पहिलो चरणको वार्षिक साधारणसभामा कोषाध्यक्ष भीमप्रसाद गुरुङले आर्थिक प्रतिवेदन र महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सदस्यहरुले समाजको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिदै हालसम्म भएका र हुदै गरेका गतिविधि प्रति खुशी प्रकट गरेका थिए । उनीहरुले कार्यकाल पूरा गरेको सातौँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । पहिलो चरणको अन्तमा अध्यक्ष गुरुङले धन्यवाद मन्तव्य राख्दै सातौ कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।
दोस्रो चरणमा समाजको आठौँ कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका प्रमुख क्याप्टेन रिटायर्ड भीष्मराज गुरुङ, क्याप्टेन रिटायर्ड शेरबहादुर गुरुङ र कमला (ज्ञानु) गुरुङले आठौँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए । समाजका नवनिर्वाचित अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष गुरुङ यस अघि तमु समाज केन्ट यूकेको प्रथम उपाध्यक्ष थिए ।
नव निर्बाचित अध्यक्ष डोलबहादुर गुरुङको पुर्ख्यौली घर स्याङजा कोल्मा-बहाकोट काहुले र हाल नेपालमा पुतली बजार नगरपालिका वडा नं ८ हुदै यूकेको आशफोर्ड केन्टमा बसोबास गर्दै आउनु भएको छ । उहाँ कोल्मा बहाकोट समाज यूकेका सल्लाहकार एवं सातसय कोल्मा बहाकोट सम्पर्क मन्च विदेश विभागको संयोजक पनि हुनुहुन्छ । नयाँ कार्यसमितिलाई सातौ कार्यसमितीले आगामी मे महिनामा पदभार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । नयाँ कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ ।