एमालेका व्यक्तिहरूलाई कद नघटाउन प्रमुख निर्वाचन आयुक्तकाे अनुरोध
काठमाडाैं: प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’ भनेका हुन् ।
मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।’ एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेकाे थियाे । त्यसकाे भाेलिपल्ट थपलियाले भनेका छन्, ‘निर्वाचन हुने/नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ सकल्पमा आइपुगेका छौं ।’
यसकारण उमेदवारी मनोनयनका लागि दुई दिन दिइयो
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूको आग्रहमा नै आसन्न स्थानीय तह निर्वाचनमा उमेदवारी मनोनयनका लागि दुई दिन समय दिइएको बताएका छन् । मंगलबार मिडियासँगको अन्तरक्रिया कार्यक्रममा एकैदिन उमेदवारी दर्ता गर्न असहज भएकाले दुई दिनको समय दिइएको उनले बताए ।
“जस्तो काठमाडौंमा ५०० उमेदवार हुन्छन्, दर्ता गर्ने एउटा कार्यालय । चार–पाँच डेस्क राख्दा पनि सकेनौँ । विभिन्न ठाउँमा दलहरूबाट मनोनयनका लागि दुई दिन दिनोस्, बरु प्रचारको समय घटाउनोस् भन्ने आग्रह गर्नुभयो । प्रचारप्रसारमा १५ दिन दिने गरिएको थियो । त्यसलाई घटाए ११ दिनमा दिने निर्णय गर्यौँ,” उनले भने ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार यही वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ता हुनेछ । मनोनयन दर्ताका लागि दुई दिन समय तोकिएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाउँदै आएको छ ।