गठबन्धनको बैठक सारेर गण्डकी कांग्रेसका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं – पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा मिल्न सकेको छैन । सबै दलले आ-आफ्नै अडान कायम राखेपछि बैठक भागबन्डाबारे विवाद झन् पेचिलो बन्दै गएको छ ।

सोमबार दुईपटक बसेको बैठकमा समेत सहमति जुट्न सकेको थिएन । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डाबारे दलहरू आ-आफ्नै अडानमा कायम छन् । जसले गर्दा यसअघि तयार भएको मस्यौदामा सहमति जुट्न नसकेको हो ।

त्यस्तै पोखरा महानगरपालिकाको उम्मेदवारीका विषयमा तालमेल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गण्डकीका नेताहरुलाई काठमाडौँ बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापालाई काठमाडौं बोलाएका हुन् । पोखरा महानगरपालिकाका बारेमा पाँच दलीय गठबन्धन अनिर्णित भएपछि अहिले साढे ११ बस्ने तय भएको गठबन्धनको बैठकसमेत सरेको छ ।

पोखरामाथि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेको छ भने कांग्रेस गण्डकीले छाड्न नहुने अडान लिइरहेको छ ।