नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित, यस्ता छन आरोपहरु

सरकारले जाँचबुझ समिति समेत गठन ।

काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरिएको हो ।

जाँचबुझ समिति गठन भएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरुको पदमुक्त सम्बन्धि व्यवस्था राखिएको छ ।

मन्त्रिपरिषदले गभर्नरलाई पदमुक्त गर्दा जाँचबुझ समिति गठन गर्ने व्यवस्था ऐनमा छ । ‘राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेमा, बैंकको काम कारबाहीमा बेइमानी र बदनियत गरेको देखिएमा, वा खराब आचरण भएमा पदमुक्त गर्न सक्ने’ व्यवस्था ऐन रहेको छ ।

जाँचबुझ समितिको गठन गर्दा सर्वोच्च अदालतका अवकासप्राप्त न्यायाधीशलाई अध्यक्ष र आर्थिक, मौद्रिक, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुबाट २ जना सदस्य रहनेछन् ।

आफ्नो अक्षमता छोप्न अर्थमन्त्रीले गभर्नर निलम्बन गरे, देश श्रीलंकाको बाटोमा : एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारलाई निर्णयको कडा आलोचना गरेको छ । एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निशाना बनाएको टिप्पणी गरेका छन् ।

‘आफ्नो अक्षमता छोप्न अरूमाथि जाई लाग्नेलाई हाम्रो तिर भन्थे-“ढङ्ग मरु-कसो गरूँ?!” निरन्तर बिग्री रहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसंग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थ मन्त्रीजी, अर्थ’कै ‘बैधानिक’ सल्लाहकार- गभर्नरलाई निलम्बन गरेर महान काम गर्नुभयो! क्यावात्,’ रिमालले ट्वीटरमार्फत व्यांग्यात्मक शैलीमा आलोचना गरेका छन्।

उनले अमेरिकाबाट ४० करोड भित्र्याउन दबाब दिनु र अहिले गभर्नरको निलम्बन हुनु संयोगमात्रै नभएको बताएका छन्। ‘हिजो अस्ति के कसो करोड-सरोड को चर्चा हुनु, आज “अटेर-गभर्नर”लाई निलम्बन गर्नु “स्याल कराउनु र बाख्रा हराउनु” जस्तै हो त?’ उनले प्रश्न गरेका छन्।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि गभर्नरको निलम्बनले देशलाई श्रीलंकाको बाटोमा लैजाने टिप्पणी गरेका छन् ।

‘तस्करीको लाइन खुलाएर अर्थतन्त्र ध्वस्त बनाउने अर्थमन्त्रीलाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको छ,’ उनले भनेका छन्, ‘यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन।’

उनले ‘अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र ‘अर्थ’मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न नसक्ने’ पनि उल्लेख गरेका छन्।

यसअघि राप्रपा अध्यक्ष कमल थापाले पनि निलम्बनको निर्णयलाई अदुरदर्शी, गैरजिम्मेवार र निन्दनीय भन्दै सच्याउन माग गरेका थिए ।

छानबिनमा सहयोग गर्छु : निलम्बित गभर्नर अधिकारीको प्रतिक्रिया

नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न भन्दै सरकारले न्यायिक समिति गठन गरेपछि गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । उनले आफू निलम्बनमा परेको हल्ला सुनेको तर औपचारिक पत्र नपाएको बताएका छन् ।

उनले सरकारले छानबिनका लागि गठन गरेको न्यायिक समितिले गर्ने छानबिनमा आफ्नो पूर्ण सहयोग रहने पनि बताएका छन् । आफूमाथि प्रतिशोध साँधेर अन्याय गरिएकोमा अदालतको ढोका ढक्ढक्याउने कि भन्ने प्रश्नमा उनले आफूले न्यायिक समितिबाटै न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।