नेपाल टेलिकमको प्रबन्धक निर्देशक नियुक्ति स्वार्थकेन्द्रित : वर्कर्स युनियन

काठमाडौँ — नेपाल टेलिकम वर्कर्स युनियनले टेलिकमको प्रबन्धक निर्देशक नियुक्तिमा गम्भीर असहमति जनाउँदै निर्णय नसच्याए अप्रिय घटनाको जिम्मेवारी लिन सरकारलाई चेतावनी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले बिहीबार टेलिकमको प्रबन्धक निर्देशकमा सुनिल पौडेलाई नियुक्त गरेको थियो । सत्तारुढ कांग्रेस निकट वर्कर्स युनियनको शुक्रबारको बैठकले टेलिकमको कार्यविधिसमेत परिवर्तन गरेर सरकारले अनुचितरुपमा स्वार्थकेन्द्रित भएर पौडेललाई नियुक्त गरेको ठहर गरेको छ ।

युनियनका महासचिव महेश्वर खड्काद्वारा हस्ताक्षरित शुक्रबार प्रकाशित विज्ञप्तिमार्फत निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिइएको छ ।

बैठकले नियुक्तिको भण्डाफोर गर्ने निर्णयसमेत गरेको छ । ‘नियुक्तिमा बारम्बार कार्यविधि परिवर्तन गरिनुले सुशासनको समेत धज्जी उडेको छ,’ विज्ञप्तिमा भनिएको छ । टेलिकमका कर्मचारीहरुको सबै संगठनले प्रबन्धका टेलिकमबाहिरका व्यक्तिलाई नियुक्ति नदिन माग गर्दै आएको थियो । युनियनका अध्यक्ष राजेन्द्र जोशीका अनुसार आन्दोलनको पहिलो चरणमा प्रबन्धकविरुद्ध बैठकको निर्णय कालो व्यानरमा लेखेर टेलिकमको मूलगेटमा राखिनेछ । ‘पहिलो चरणमा हाम्रो भनाइ कोलो व्यानरमा लेखेर मूलगेटमा राख्छौं,’ जोशीले भने ।

पौडेललाई नियुक्ति दिलाउन सरकारले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७५’ लाई नै संशोधन गरेको थियो । पौडेललाई नियुक्ति गर्न सहज हुने गरी निर्देशिका परिवर्तन गरिएको थियो । सामान्यतयाः टेलिकमकै कर्मचारीबाट प्रबन्धक निर्देशक नियुक्ति गर्ने परम्परा तोड्दै पौडेललाई नियुक्ति गरिएको छ । उनलाई ओली सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक बनाएको थियो ।

ओली नेतृत्वको सरकारले गत २०७५ मा पौडेललाई करारमा सूचना केन्द्रमा नियुक्ति गरेको थियो । विवादास्पद र महालेखा प्रतिवेदनमा उनले गरेको अनियमितताका विषय जोडिएको प्रसंग जोड्दै युनियनले भनेको छ, ‘संस्थामा अप्रिय स्थिति आउन नदिन सरकारले अपरिपक्क र विवादस्पद निर्णय सच्याउनुपर्छ ।’