च्याम्पियनस लिगमा चेल्सी र बायर्न म्युनिक पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियलले साविक विजेता तथा इंग्लिस क्लब चेल्सीलाई ३-१ गोल अन्तरले हराएको हो । चेल्सीको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक गरे ।

खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । खेलको ४० औं मिनेटमा काइ हार्भटेजले गोल गर्दै चेल्सीलाई २-१ को स्थितिमा ल्याए । तर, खेलको ४६ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ३-१ को जित दिलाए ।

यस जितसँगै रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सीलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । दोस्रो लेग आगामी अप्रिल १३ मा हुनेछ । खेल रियलको मैदानमा हुनेछ ।

जर्मन क्लब बायर्न म्युनिख पनि पराजित

त्यस्तै च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अर्को क्वाटरफाइनलको पहिलो लिगमा बायर्न म्युनिख पराजित भएको छ । खेलमा बायर्न स्पेनिस क्लब भिल्ला रियलसँग १-० गोल अन्तरले पराजित भएको हो । भिल्लालाई जित दिलाउन अर्नौट डान्जुमाले निर्णायक गोल गरे । उनले खेलको आठौं मिनेटमा गोल गरेका थिए ।

यस्तै भिल्लाका कोक्विलिनले गरेको गोलले मान्यता पाएन । भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता नपाएको हो । यस्तै जेरार्ड मोरेनोको प्रहार पोस्टमा लागेर फर्किएको थियो । यता, बायर्नले पनि पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।