मासु-भातको लोभमा भोट दिँदा जनताले दु:ख पाए : राजेन्द्र लिङ्देन

‘चुनावमा मासु र भात खुवाउने पार्टी नै सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति अझै छ’

मोरङ — राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले अझै पनि चुनावमा मासु र भात खुवाउने पार्टी सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति रहेको भन्दै यस्तो प्रवृत्ति हटाउनुपर्ने बताएका छन् । विराटनगरमा बुधबार आयोजित आमसभामा नेता लिङ्देनले देशमा अहिले पनि चुनाव घोषणा भएपछि नेताहरु भोजभतेरको आयोजना गर्ने अवस्था रहेको बताएका हुन् ।

‘हाम्रै मान्छेहरुले अरु पार्टीले त मासु र भात खुवाउन थाल्यो । अब तिमीले पनि केही गर्नुपर्छ, होइन भने त मान्छे सबै उतैतिर लाग्छन् भन्ने गरेका छन्,’ उनले भने, ‘अहिलेसम्म नेपालीले दुःख पाउनुको मूल कारण मासु र भात खाएर भोट दिनु नै हो ।’ अघिल्ला चुनावहरुमा ठीक पार्टी र ठीक व्यक्तिलाई भोट नदिएकाले अहिलेसम्म नेपालीले दुःख पाएको लिङ्देनको भनाइ थियो ।

‘उमेर नपुग्दै छोराहरुलाई परिवार पाल्नका लागि खाडी मुलुक पठाउनु पर्ने नियति गएका चुनावहरुमा ठीक पार्टी र ठीक नेता चुन्न नसक्नुको परिणाम हो,’ उनले भने, ‘नेता र पार्टीको जति गल्ती छ त्यसभन्दा कम गल्ती तिनीहरुलाई भोट दिने हातहरुको पनि छैन । त्यसैले गम्भीर बनौं ।’ धेरै पटक सोचेर भोट दिन लिङ्देनले आम नागरिकहरूलाई आग्रह गरेका थिए । यस्तै कांग्रेस, एमाले र माओवादी केन्द्रलाई लक्षित गर्दै उनले देशलाई विदेशीको खुट्टामुनि पुर्‍याउने तिनै दलहरु भएको लिङ्देनको आरोप थियो । संसद्‍का ठूला दलहरूले एमसीसी पास गरेकोमा पनि उनले आपत्ति जनाएका थिए ।

ठूला दलहरू मिलेर नै एमसीसी पास गरेकोमा आपत्ति जनाउँदै उनले सरकारले स्वदेशमै ऊर्जा खपत बढाउनुपर्ने बताएका थिए । ‘महिना दिनमै १ खर्ब ६० अर्ब इन्धनमा खर्च गरेका सरकारले स्वदेशमा नै उर्जा खपत किन बढाउन सक्दैनन् ? इन्धन आयात रोकेर विद्युतीय सवारी विद्युती चुल्होको प्रयोग बढाउने योजना ल्याउन कसले रोकेको छ ? त्यो सबैले बुझ्नु जरुरी छ’ नेता लिङ्देनले सोधेका थिए । यस्तै देशको अर्थतन्त्र ओरालो लागिरेको र कुनै पनि बेला श्रीलंका जस्तो हुने खतरा रहेकाले मुलुकलाई जोगाउनुपन उनले आह्वान गरेका थिए ।