अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने

काठमाडौँ — अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरिएको अध्यक्ष नेपालले बताए । केसीलाई पार्टीको परराष्ट्र विभागसमेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ । नेकपा एमालेनिकट रहेका केसी पछिल्लो समय राप्रपा प्रवेश गर्ने हल्ला चलेको थियो ।

त्यस्तै उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको उमपेयरमा रेश्मा लामालाई उठाउने भएको छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा हुर्के बढेकी लामा स्नातक उत्तीर्ण र वैदेशिक रोजगारीबाट फर्किएको अध्यक्ष नेपालले जनाएका छन् ।

आउँदो वैशाख ३० गते तोकिएको स्थानीय तहको चुनावका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसअघि र्‍यापर बालेन शाहले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

केसी भन्छन्– मेयरमा उठ्ने पार्टीले निर्णय गर्‍यो मैले गरेको छैन

यतिबेला स्थानीय निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाको मेयर पदको विशेष चर्चा अनि आकर्षण चलिरहेको छ । काठमाडौंको मेयर पदमा र्‍यापर बालेन शाहदेखि पूर्व मिस नेवा सुनीता डंगोलेले उठ्ने घोषणा गरिसकेका छन् । यहि सेलिब्रेटिको सूचीमा नेपाली सिने जगतका लोकप्रिय अभिनेता भुवन केसीको नाम पनि जोडिएको छ ।

अभिनेता केसीलाई लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने निर्णय गरेको छ ।

यता अभिनेता केसीले पनि यसबारे पार्टीसँग छलफल भएको कुरा नकारेनन्, तर मेयरमा उमेदवारी दिने नदिने निर्णय लिइनसकेको बताए । “एउटा कलाकारको नाताले सबैले मलाई माया नै गर्नुहुन्छ त्यसप्रति म आभारी नै छु । तर मैले अहिलेसम्म के गर्ने कसो गर्ने भन्ने कुराको ठोस निर्णय लिइसकेको छैन,” अभिनेता भुवनले बताए । तर यतिभनिरहँदा उनले समुन्नत लोकतन्त्र पार्टीलगायत केही पार्टीका नेताहरुसँग कफी गफमा राजनीतिको गफगाफ भैरहेको बताए ।

“हो विभिन्न पार्टीका नेताहरुसँग, साथीभाइहरुसँग कफि गफमा राजनीतिको गफगाफ भएको हो । तर अघि भनेजस्तै मैले यसबारे कुनै ठोस निर्णय गरिसकेको छैन,” भुवनले भने ।