चुनावी तालमेल सम्बन्धमा सत्ता गठबन्धनबिच बालुवाटारमा छलफल

काठमाडौँ — आउँदो स्थानीय तह चुनावमा हुने तालमेलको मोडालिटीबारे निर्णयार्थ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत छलफलमा सहभागी छन् ।

यसअघि चैत १७ गते बसेको गठबन्धनको बैठकले सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो । आजको बैठकमा त्यससम्बन्धी रिपोर्टिङ प्रतिवेदन आउने र त्यसका आधारमा चुनावी मोडालिटी तयार हुने छ ।

बैठकमा शेरबहादुर देउवाको भारत भ्रमणबारे पनि समीक्षा हुने बालुवाटार स्रोतले जनाएको छ ।

नगरको भागबण्डा गर्न सत्तारुढ गठबन्धनबिच छलफल

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ। बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी भएका छन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर, उपमहानगर र नगरपालिकामा उम्मेदवारको भागबण्डा गर्ने विषयमा छलफल गर्न केन्द्रीत रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि समसामयिक राजनीतिक घटनाक्रम, स्थानीय निर्वाचनमा तालमेलको गृहकार्यको विषयमा छलफल गर्न बैठक बसेको बालुवाटार स्रोतले जनाएको छ ।

यस अगाडि चैत्र १७ गते बसेको गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरमा तालमेलको निर्णयमा गरेको थियो। सत्तारुढ दल गठबन्धन एमालेविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढ्ने तयारीमा छन् ।

६ महानगरमा गठबन्धनको केन्द्रबाट नै उम्मेदवारको टुगो लगाउने निर्णय गरेको थियो। भरतपुर महानगरपालिकामा नै माओवादी केन्द्रले दाबी गरेको छ। तर चितवन कांग्रेसले भने भरतपुरको मेयर कांग्रेसले लिएर अन्य पद माओवादी केन्द्रलाई दिनुपर्ने छलफल अगाडि बढाएका छन् ।

सोमबार बिहान जिल्लास्थित गठबन्धनमा आबद्ध दलहरुको बैठकले स्थानीय तह निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका छन् । जिल्लास्थित सातवटै पालिकामा गठबन्धन दलहरुबीच बैठक बसी चुनावी तालमेलका बारेमा संयुक्त संयन्त्र निर्माण गर्ने र उक्त संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरेको हो ।