बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

लण्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीबार बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

कोभिडको जोखिमका कारण भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै सहभागिता जनाएकी थिइन् । आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्ने क्रममा महारानीले राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै उनको पालामा बेलायत– नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरिन् ।

राजदूत आचार्यसँगको संवादमा उनले विगतमा आफूले दुईपटक नेपाल भ्रमण गर्दाको स्मरण गर्दै नेपालको सुन्दरताको प्रशंसा गरेकी थिइन्। बेलायतको लागि नेपालको २२ औँ राजदूतका रुपमा नियुक्त भएका आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए ।

महारानीलाई ओहोदाको प्रमाणपत्र बुझाएर दूतावास फर्किएलगत्तै राजदूत आचार्यले एक रिसेप्सन होस्ट गरेका थिए । त्यस अवसरमा बेलायत सरकारका अधिकारी, बेलायतस्थित विभिन्न मुलुकका कुटनीतिज्ञ र नेपाली समुदायका केही प्रतिनिधि सहभागी थिए। समारोहलाई सम्बोधन गर्दै राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल(बेलायत सम्बन्ध थप सुदृढ, बलियो र बहुआयामिक बनाउने प्रतिवद्धता दोहोर्‍याए ।

उक्त कार्यक्रममा महारानीको प्रतिनिधित्व गर्दै ’मार्शल अफ कोर्ट अफ कोर्प्स’ एलिस्टर ह्यारिसनले राजदूत आचार्यलाई बेलायतमा स्वागत गरेका थिए ।