गठबन्धनलाई अझ एकताबद्ध बनाउने – प्रधानमन्त्री देउवा

‘हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा द्विमत छैन । हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन । ‘

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार दलले आशंका व्यक्त गरिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले गठबन्धन अझ एकताबद्ध भएर जाने बताएका हुन् ।

बिहीबार रिपोर्टस क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताएका हुन् । प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने बताए । गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा द्विमत छैन । हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन । वास्तवमा भन्ने हो भने सबै अरु पार्टीका नेताहरुले सहयोग गर्नुभएको छ । उहाँहरुले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकताबद्ध रूपमा अघि बढाउने छौँ । गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु । अफ्ठ्यारोलाई फुकाउने र मिलाउने काम राजनीतिक दलहरुको हो, भाग्ने काम होइन नि । हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौँ ।’

प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको पनि बताए । प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुस्ख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने प्रधानमन्त्री देउवाको भनाइ थियो ।