भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ, गठबन्धन हुन्छ : प्रचन्ड
चितवन — पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने बताएका छन् । साथै भरतपुर महानगरपालिकाको मेयरमा पनि माओवादीको दाबी रहने उनले बताएका छन् । भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने, ‘अब स्थानीय चुनावमा आवश्यक तालमेल हुन्छ ।’ नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल हुन सक्ने निर्णय गरेको थियो ।
‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने छलफल चलेको छ । भोलि हाम्रो गठबन्धनको बैठक बस्दै छ । सम्भवत: महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ,’ दाहालले भने ।
यसअघिको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । माओवादीबाट दाहालकी छोरी रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् भने कांग्रेसकी पार्वती शाह उपमेयरमा निर्वाचित भएकी थिइन् ।
गठबन्धन गर्छौं भनेका छन् तर सजिलो छैन : ओली
‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ । गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ ।’
त्यस्तै प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको बताए । भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा ओलीले भने, ‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन । लोभिपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !’
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रिय समितिबाट स्थानीय तह निर्वाचनमा सरकारमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय लिएको एक दिनपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो । उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई भनेर मनोनयनका लागि समय लामो राखिएको बताए । ‘एकै दिनमा गठबन्धनले उम्मेदवारी दर्ता गर्नै सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ । एक हप्ता गराए पनि के हुन्छ र ? मनोनयन नै हुने होला । सबै दल मिलेर आए पनि हुन्छ ।’
निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने ओलीको दाबी थियो । उनले भने, ‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ । गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ ।’
वर्तमान सरकारले कुनै काम नगरेको ओलीको दाबी थियो । उनले विगतमा आफ्नो कार्यकालमा भएका कामहरू उद्घाटन गर्दै हिँडेको बताए । ‘बाटो हामीले बनायौं, मोटर उहाँहरूले चलाउनुभयो होला । त्यो कुन ठूलो कुरा हो र,’ उनले भने ।