अमेरिकाले नेपालको लागि डिन थोम्पसनलाई नयाँ राजदूतमा प्रस्ताब

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले डिन थोम्प्सनलाई नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका छन् । मंगलबार राष्ट्रपति बाइडेनले लामो समयदेखि अमेरिकी कूटनीतिक सेवामा रहेका थोम्प्सनलाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका हुन् । अमेरिकी सिनेटले नाम अनुमोदन गरेपछि उनी नेपालका लागि राजदूत नियुक्त हुनेछन् । उनले वर्तमान राजदूत र्‍यान्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त बेरीले २०७५ साल कात्तिक ८ गते नेपालका लागि अमेरिकी राजदूतका रूपमा पदभार सम्हालेका थिए । सामान्यतया अमेरिकी राजदूतको कार्यकाल ३ वर्ष हुने गरे पनि बेरीको कार्यकाल एक वर्ष थप गरिएको थियो । नयाँ राजदूतका रूपमा थोम्प्सनको नियुक्तिसँगै बेरी फर्किनेछन् । बेरीलाई अब कुन जिम्मेवारी दिने भन्नेबारे भने केही जानकारी दिइएको छैन ।

एलिना टेप्लिजपछि नेपालका लागि अमेरिकी राजदूतको जिम्मेवारी सम्हालेका र्‍यान्डी बेरीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सँगको सम्झौतामा अनुमोदनका लागि भूमिका खेलेका थिए ।

थोम्प्सन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् । कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् । अहिले उनी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा ‘प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी’ का रूपमा कार्यरत छन् ।

त्यसअघि उनी क्वालालम्पुरस्थित अमेरिकी राजदूतावासमा ‘डेपुटी चिफ अफ मिसन’ का रूपमा कार्यरत थिए । त्यस्तै उनले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेका थिए ।

त्यसअघि थोम्प्सनले कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा काम गरेका थिए । विटेनबर्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण थोम्पसनले मेरिल्यान्ड विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । त्यस्तै नेसनल वार कलेजबाट उनले ‘राष्ट्रिय सुरक्षा रणनीति’ मा स्नातकोत्तर पनि गरेका छन् । उनी रोमानियाली र बंगाली भाषामा पनि दख्खल राख्छन् ।