आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय, विभिन्न समिति गठन
काठमाडौं, चैत १५ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चैत ११ गते शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा काँग्रेस जिवयी हुने बलियो परिस्थिति र आधार बनेको र जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने उहाँले बताउनुभयो ।स्थानीय तहका उममेदवारका लागि भने पार्टीको विधानमा उल्लेख भए बमोजिमको मापदण्ड लागू हुने उहाँको भनाई छ ।
‘संविधान निर्माण, कार्यान्वयनको सन्दर्भमा काँग्रेसले प्रस्तुत गरेको सक्षम नेतृत्व, कोरोना महामारीबाट जनताको जीवन रक्षाको पहलकदमी एवम् काँग्रेस सरकारले निर्वाह गरेको प्रभवकारी भूमिका, संयमित राजनीतिक व्यवहार र आशन्न निर्वाचनमा राष्ट्रव्यापीरुपमा बहुसंख्यकरुपमा विजयी हुने आधार तय भएको छ, उहाँले भन्नुभयो । ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानले पनि पार्टीको विजयको आधारलाई थप व्यापक बनाएको उहाँको भनाई छ ।
बैठकले यसअघि फागुन ३० गते सम्पन्न काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णयहरु अनुमोदन गरेको छ । पार्टी विधान अनुरुप देशव्यापीरुपमा काँग्रेसको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो । यसैगरी, वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि केन्द्रीय परिचालन समिति गठन गर्ने र यसको जिम्मा उपसभापति पूर्णबहादुर खडेकालाई प्रदान गरिने निर्णय गरिएको छ । प्रवक्ता महतकै संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।
कांग्रेसमा पूर्ण खड्का चुनावी कमाण्डर, घोषणापत्रको जिम्मा गगनलाई, प्रचारको नेतृत्व महतलाई
त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चौथो दिनमा आएर सकिएको छ । शुक्रबारदेखि सुरु भएको बैठकले गठबन्धनमा रहेका अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । यस्तै बैठकले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको हो ।
प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने निर्णय सर्वसम्मत रूपमा भएको छ । स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय भयो। यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ।’
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै, प्रवक्ता महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । यसअघि कांग्रेसले महामन्त्री गगन थापालाई घोषणापत्र तयारी समितिको संयोजक बनाएको थियो ।
कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय बोर्ड गठन गर्ने भनिए पनि नेताहरुबीच कुरा नमिल्दा निर्णय हुन सकेन ।
बैठकका निर्णयहरू
१. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २४ (२) बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गरिन्छ ।
२. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने ।
३. उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा “स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति” गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नु हुनेछ ।
४. केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा “स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति” गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नु हुनेछ ।
५. संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धीको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भुमिका, नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भुमिका, संयमित र समन्वयकारी राजनैतिक व्यवहार तथा नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भुमिकाका कारण नेपाली काँग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको छ । यसैक्रममा पार्टीले संचालन गरेको स्थानीय तह निर्वाचन केन्द्रीत ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजवुत बनाउँदै लगेको छ । यो परिस्थितिमा अझै थप उत्साह साथ निर्वाचन अभियानमा जुट्न नेपाली कांग्रेस सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपिल गर्दछ ।
६. स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइनेछ ।
७. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ६९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २३(५) बमोजिम प्रदेश सभाका सदस्य एवं प्रदेश मन्त्री परिषद्का सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको बीस प्रतिशत रकम नियम २३(६)(क) बमोजिम केन्द्रमा बुझाउनु पर्ने व्यवस्था रहेकोमा, २०७९ वैशाख १ गतेदेखि उक्त रकम प्रदेश सभा संसदीय दलले पार्टीको सम्बन्धित प्रदेश कार्यसमितिको खातामा जम्मा हुने गरी पठाउनेछ । २०७८ चैत्र मसान्तसम्मको केन्द्रमा पठाउन बाँकी रहेको त्यस्तो रकम सम्बन्धित प्रदेश सभा संसदीय दललाई यही चैत्र मसान्त भित्र अनिवार्य केन्द्रमा पठाउन निर्देशन गर्ने ।
८. नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५(४)(२) र (३) बमोजिम प्रत्येक नयाँ क्रियाशील सदस्यले क्रियाशील सदस्यता शुल्क वापत बुझाउनु पर्ने रकम रु. ३०० (तीन सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. ४० (चालीस) र प्रत्येक क्रियाशील सदस्यले क्रियाशील सदस्यता नविकरण वापत बुझाउनु पर्ने नविकरण शुल्क रु. २०० (दुई सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. १० (दश) को दरले पार्टीको चौधौं महाधिवेशनमा प्रदेश कार्यसमितिको क्षेत्रभित्र कायम रहेका नयाँ क्रियाशील सदस्य र नविकरण गरेका क्रियाशील सदस्यको संख्या बमोजिम हुने नयाँ सदस्यता शुल्क र नविकरण शुल्क वापतको जम्मा रकम सम्बन्धित प्रदेश कार्यसमितिलाई केन्द्रबाट पठाउने ।