बेलायत, माल्दिभ्सका लागि श्रम सम्झौतामा वार्ता अगाडि बढ्यो

काठमाडौं–श्रम मन्त्रालयले बेलायत, माल्दिभ्स, सिसेल्समा श्रम सम्झौताका लागि तीव्र रुपमा छलफल अगाडि बढाइएको जनाएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नयाँ गन्तव्य मुलुकका रुपमा बेलायत, माल्दिभ्स, सिसेल्स र इजरायल (निर्माण श्रमिकको लागि) सँग श्रम सम्झौताको लागि श्रम वार्ताहरु तीव्र रुपमा अगाडि बढाइएको जानकारी दिए ।

अहिले १ सय ७८ मुलुकमा नेपालीहरु व्यक्तिगत श्रम स्वीकृति लिएर जान पाउँछन् भने १ सय १० मुलुकमा संस्थागत रुपमा श्रम स्वीकृति लिएर जान पाइने मन्त्रालयले जनाएको छ । त्यस्तै एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने व्यवस्था गरिएको मन्त्री श्रेष्ठले बताए ।