एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, ११ कार्यसूची तथा उम्मेदवार छनौट मापदण्ड पारित
काठमाडौं, चैत १० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकमा ११ वटा कार्यसूची सर्वसम्मत पारित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
एमाले केनद्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझाव संकलन गरिएको र आसन्न स्थानीय निर्वाचनमा अत्यधिक बहुमतसहित पहिलो शक्ति बन्ने निष्कर्श निकालिएको उहाँले बताउनुभयो । ‘निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुनुपर्ने, पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुने निर्देशन पार्टी अध्यक्षले दिनुभएको उहाँले बताउनुभयो ।
यससँगै सार्वजनिक कार्यक्रममा कम्तिमा पाँच जना वक्ता रहने, माला र खादाको प्रयोगमा कमी गर्ने, कार्यक्रम छिटो, छरितो बनाउने र मञ्चमा वक्तालाई मात्र राख्नुपर्ने जस्ता निर्वाचन लक्षित कार्यक्रमका विषयमा निर्णय भएको उहाँले बताउनुभयो । सुझाव समावेश गरिएको पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशन गरिने बताउनुहुँदै उहाँले आंशिकरुपमा विभागहरु गठन गरिएको जानकारी दिनुभयो । विधानअनुसार केन्द्रीय विभागमा ३५ सदस्य राख्न सकिने व्यवस्था रहेको छ ।
यसैगरी, स्थानीय तहको उम्मेदवारको छ वटा मापदण्ड पारित गरिएको सो दलले जनाएको छ । चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्ने बताइएको छ । वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने भनिएको छ । त्यस्तै, प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्य्रीय कमिटीले निर्णय गर्ने एमालेले बताएको छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सात सय ५३ स्थानीय तहमा एकैदिन देशव्यापी चैत १६ गते घोषणापत्र जारी गरिने उहाँको भनाई छ । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल र दिनेशचन्द्र देवकोटासहितको कार्यदल गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
यससँगै पार्टीको वार्षिक क्यालेन्डर पारित, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, विगतमा सचिवालय बैठकका निर्णयको अनुमोदन गरिएको उहाँले बताउनुभयो । ववरमहलस्थित एक बैङक्वीटमा बैठक बसेको हो ।
एमालेले तय गर्यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड, चैत मसान्तभित्र स्थानीय तहका उम्मेदवार सिफारिस गर्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ — नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।
स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
त्यस्तै, उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा गाउँ/नगरकमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर/ महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेगरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको उनले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र ६ मापदण्डअनुसार स्थानीय तहका उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको पनि प्रचार विभाग उपप्रमुख रिजालले बताए ।