माओवादी हारे देश हार्छ, चुनाव हाम्रो लागि लडाइँ: प्रचण्ड
जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी हारे देश नै हार्ने बताएका छन् । उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्न माओवादी केन्द्रले जित्ने पर्ने बताउँदै भने, ‘माआवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ ।’
मंगलबार जनकपुरधाममा मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनलाई निर्वाचनको रुपमा नभइ युद्धको रुपमा लिन आफ्नो कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रुपमा लिन आग्रह गर्दै सोहीअनुसार चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘अगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हो । हाम्रो लडाइँ हो। लडाइँकै हिसाबले तयारी गर्नुस् । गठबन्धन गरिदिन्छ र चुनाव जितौँला भन्ने मानसिकता परिवर्तन गर्नुस् । पुरै शक्ति लगाएर एक्लै कसरी चुनाव जित्ने भन्नेतिर लाग्नुस्, होमिनुस् ।’
प्रचण्डले प्रतिक्रियावादी र अन्तराष्ट्रिय शक्तिहरु माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको दावी गर्दै उनले भने, ‘माओवादी लडेकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सम्भव भएको हो । समानुपातिक, समावेशीता लागू भएको हो। यसविरुद्ध प्रतिक्रन्तिकारी शक्ति र विदेशी शक्तिहरु एकजुट भएर उल्टाउन खोज्दैछन् ।’
प्रशिक्षण कार्यक्रममा माओवादीका स्थायी समिति सदस्य गिरीराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, रामकुमार शर्मालगायतका नेताहरु उपस्थित रहेका छन् ।