अमेरिकाको मेरिल्याण्ड विधानसभाबाट दशैँ विधेयक पारित

अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा.ह्यारी भण्डारीको पहलमा दशैँ विधेयक पारित भएको छ । विधेयक गत शुक्रबार १२३–५ मतको भारी बहुमतले पारित भएको हो। यो विधेयकको प्रस्तावनामै लेखिएको छ- नेपालमा उत्पति भएको दशैँ असत्यमाथि सत्यको जीतको खुसीयालीमा मनाइने एक सांस्कृतिक चाड हो ।

यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद मेरिल्याण्डको ४४४ औं संसद अधिवेशनमा प्रस्तुत भएको थियो । संसदमा नेपाल नै लेखिएको विधेयक प्रस्तुत गर्नु र यो अवस्थामा ल्याइपुर्याउनु आफ्ना लागि गर्वको विषय भएको विधान सभा सदस्य डा ह्यारी भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

डा.भण्डारीले थप्दै भने– हामी यतिमा अडिनु हुँदैन, किनकि अझै विधेयक कानून बनिसकेको छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बेली (विधानसभा) मा पारित गराएर महत्वपूर्ण खुड्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु।

विज्ञप्तीको पूर्ण पाठ जस्ताको त्यस्तै :

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधेयक पारित भएको खुशीको खबर सुनाउन पाउँदा अत्यन्तै गौरवको अनुभूति भैरहेको छ। विधेयक शुक्रबार मार्च १७, २०२२, अमेरिकी पूर्वी समयअनुसार ११ : २० बजे १२३–५ मतको भारी बहुमतले पारित भएको हो।

यो खुशीको खबर सुनाइरहँदा म नाटककार गोपालप्रसाद रिमालले भन्नुभएको एउटा बहुचर्चित भनाइ सम्झिरहेको छु, ‘एक जुगमा एक दिन एकपटक आउँछ।’ साँच्चै नै अमेरिकाको नेपाली डायस्पोराका लागि यो दिन एक जुगमा एकपटक नै आएको हो।

अमेरिकामा एक नेपाली मूलको सांसदले दशैं नेपालमा उत्पति भएको साँस्कृतिक चाड हो भनेर विधेयक प्रस्तुत गर्ला र त्यो बाइपार्टिसन विधेयकका रूपमा स्थापित भएर ५ मतका विरूद्ध १२३ मतले पारित होला भनेर कस्ले सोच्न सक्थ्यो होला र ?

सामान्यतः सबैका लागि असम्भव जस्तै लाग्ने त्यो सपना मैले भने अमेरिका आएर यही बस्छु भन्ने लागेकै दिनदेखि देख्न थालेको थिएँ, आज त्यो विपना हुँदा मेरो दिमागमा एउटै कुरा खेलिरहेको छ, ‘राजनीतिको शब्दकोशमा असम्भव भन्ने शब्द हुँदैन’ यसैकारण भनिएको रहेछ।

जतिबेला विधेयक पारित भैरहेको थियो, मैले अमेरिका आएको दिन र त्यतिबेला गरेका कठिनतम संघर्षका दिनहरू सम्झेँ। मेरो हजुरबुबाले अन्तिमपटक दशैंको टीका लगाइदिँदै नेपाल र नेपालीको इज्जत राखेस् भनेर दिएको आशीर्वाद सम्झेँ । नेपालबाट आउँदा ल्याएको चन्द सूर्य अंकित झण्डा सम्झेँ, अनि चार वर्षअघि विधायकमा निर्वाचित भएपछि नेपाली पहिरनमा गीता छोएर लिएको सपथ सम्झेँ, ती सबै कुराले मलाई अत्यन्त भावुक बनाए। अर्कोतिर, संसारकै शक्तिशाली र लोकतान्त्रिक मुलुक संयुक्त राज्य अमेरिकामा नेपाल र नेपालीले मनाउँदै आएको दशैँलाई नेपालमा उत्पति भएको चाडका रूपमा दर्ता भैरहेको थियो, त्यसले मलाई गौरवको अनुभूति गराइरहेको थियो ।

यो विधेयकको प्रस्तावनामै लेखिएको छ– नेपालमा उत्पति भएको दशैं असत्यमाथि सत्यको जीतको खुसीयालीमा मनाइने एक साँस्कृतिक चाड हो। यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद मेरिल्याण्डको ४४४ औं संसद अधिवेशनमा प्रस्तुत भएको हो, जुन संसदको भुईँ जर्ज वासिङ्टन, जेफर्सजजस्ता अमेरिकी इतिहासका शीर्ष व्यक्तिहरूले नापेका हुन्। त्यस्तो संसदमा नेपाल नै लेखिएको विधेयक प्रस्तुत गर्नु र यो अवस्थामा ल्याइपुर्याउनु मेरो लागि गर्वको विषय हो।

म यतिबेला घरदेशमा होस् वा परदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा यो सफलताको श्रेय सरोबरी बाँड्न चाहन्छु, यो हामी सबैको सामूहिक प्रयासको सफलता हो। हामी जो जहाँ थियौ, सबैले प्रयास गरेकै हौ, म विधायक भएकाले निमित्त भएँ, त्यो यहाँहरुको आशीर्वाद र मेरो भाग्यको कुरा हो।

हामी यतिमा अडिनु हुँदैन किनकि, अझै विधेयक कानुन बनिसकेको छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बलीमा पारित गराएर महत्वपूर्ण खुड्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु। हामीसँग यो प्रक्रियाका लागि थोरै समय छ, काम भने अझै पनि धेरै बाँकी छ।

मलाई आशा एवं विश्वास छ, सिनेटबाट पनि अर्को सुखद समाचार आउने छ। त्यतिञ्जेलसम्म म यहाँहरु सबैलाई आफ्नो समर्थन कायम राख्दै धैर्य धारण गर्न अनुरोध गर्दछु। यहाँहरुको सहयोग, साथ र समर्थनको हार्दिक अपेक्षासहित,

डेलिगेट ह्यारी भण्डारी, पीएचडी
सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली