पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी
एजेन्सी । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्याण्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् ।
अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भए । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराइन् ।
कोरोना महामारीको कारण यसपटकको फिनालेमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।
मिस वर्ल्डको मुख्य विधा मानिने ब्युटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । क्यारोलिना पोल्याण्डबाट विश्व सुन्दरी प्रतियोगिता जित्ने दोस्रो प्रतिस्पर्धी हुन् । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।