भारतको पञ्जाबमा आम आदमी पार्टीको भगवन्त मान मुख्यमन्त्री बन्दै
एजेन्सी । भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टी(आप) ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । फेब्रुअरी २० मा भएको विधानसभा चुनावको नतिजा बिहीबार बिहानदेखि आउन सुरु भएको हो ।
हालसम्म प्राप्त नतिजा अनुसार ११७ सिट रहेको पञ्जाब विधानसभामा आपले झन्डै दुई तिहाई मत प्राप्त गर्ने देखिन्छ । १ सय १७ सिट रहेको पञ्जाबमा सरकार बनाउन ५९ सिट आवश्यक पर्ने भए पनि आपले करिब ९० सिटमा जित हात पार्ने निश्चितजस्तै देखिएको छ । सरकार बन्ने निश्चित भएसँगै पञ्जाबका विभिन्न ठाउँमा ‘बल्ले बल्ले’ शैलीमा आप समर्थकले खुसियाली मनाइरहेका छन् ।
अघिल्लो चुनावमा आपले २० सिट जितेर प्रतिपक्षी दलको स्थान लिएको थियो । दिल्ली नजिकैको पञ्जाबमा सत्तामा आउन मुख्यमन्त्री अरविन्द केजरीवाल अघिल्लै चुनावदेखि प्रयासरत थिए। तर सन् २०१७ को चुनावमा उनको दलले अपेक्षाकृत जित भने हासिल गर्न सकेन ।
त्यतिबेला दिल्लीमा आपले सरकार चलाएको दुई वर्षमात्रै भएको थियो । र, अहिले ७ वर्ष सरकार चलाइसकेका केजरीवालले ‘दिल्ली मोडल’ को प्रचार पञ्जाबमा गरेका थिए । दिल्लीमा आप नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका क्षेत्रमा उल्लेख्य सुधारका काम गरेको छ ।
चुनावी नतिजा आउने क्रम सुरु भएसँगै गुरुद्वारामा प्रार्थना गर्दै भावी मुख्यमन्त्री भगवन्त मान ।
आम आदमीले यसपटक लोकसभा सदस्य भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उठाएको छ । डिजिटल प्लेटफर्मको सुरुवात हुनुभन्दा पहिले नै भगवन्त मान पन्जाबका घरघरमा सुनिएका र रुचाइएका पात्र हुन् । राजनीतिक व्यंग्यका लागि उनी निकै परिचित छन् । लोकसभा बैठकमा समेत उनका प्रस्तुति रोचक हुने गर्छ । उनले सन् २०११ मा पिपल्स पार्टी अफ पन्जाबबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । तर सन् २०१४ मा भारतमा राष्ट्रिय रूपमा नरेन्द्र मोदीको लहर र दिल्लीमा आम आदमी पार्टी उदाइरहेका बेला मानले पार्टी परिवर्तन गरेका थिए ।
२०१४ को लोकसभा चुनावमा उनी संगरुर विधानसभा क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए । कांग्रेस र अकाली दलका उम्मेदवारसँगको प्रतिस्पर्धामा उनी २ लाख बढी मतान्तरले विजयी भएका थिए । उनी सन् २०१९ मा पनि सोही सिटबाट नै लोकसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी पन्जाबमा आम आदमी पार्टीका सबैभन्दा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।
भारतमा ५ राज्यमा विभिन्न चरणमा भएको विधानसभा चुनावको सुरुवाति मतपरिणाम आउन थालेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार ४ राज्यमा भारतीय जनता पार्टी(बीजेपी) र एउटामा आम आदमी पार्टीले सरकार बनाउने देखिएको छ । ४०३ सिट रहेको उत्तरप्रदेश विधानसभासहित गोवा, मणिपुर र उत्तराखण्डमा बीजेपी अगाडि रहेको छ । त्यस्तै दिल्लीबाहिर सरकार बनाउन लागि परेको आम आदमी पार्टीलाई पञ्जाबमा सफलता मिल्न सक्ने देखिएको छ ।