मानवीय रुटमार्फत बाहिरिँदै, २० लाख बढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा
एजेन्सी । युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न थालेपछि विभिन्न शहरमा फसेका गैरसैनिक नागरिकहरु दुवै देशको सहमतिमा छिमेकी देशहरुमा जान थालेका छन् ।
पटक पटक आंशिक रुपमा दुवै तर्फबाट भएका युद्धविरामहरु भङ्ग भए पनि राजधानी किभ नजिक रहेको पश्चिमी शहर इर्पिन र युक्रेनको उत्तरी शहर सुमीबाट नागरिकहरुको उद्वार गरिएको छ ।
युक्रेनी सरकारका अनुसार सुमीबाट पाँचहजार गैरसैनिक नागरिकहरु शहर छोडेर पश्चिमतिर लागेका छन् । यसैबीच, संयुुक्त राष्ट्र सङ्घका अनुसार आक्रमण भएको १३ औं दिनसम्म युक्रेनबाट करिब बीसलाख मानिस रुस, बेलारुससहित छिमेकी देशमा शरण लिन पुगेका छन् । सबैभन्दी बढी छिमेकी देश पाेल्याण्डमा पुगेका छन् ।
राजधानी किभ र विभिन्न शहरबाट नागरिकहरुलाई सुरक्षित रुपमा बनाइएका रुटबाट बाहिर पठाउन रुस तयार रहेको बताइएको छ ।दक्षिणपूर्वी शहर मेरिपोलमा भने युद्धविराम भङ्ग भएकाले सो कार्य कठिन रहेको अलजजिराले उल्लेख गरेका छ ।
युक्रेन सरकारले युद्धविरामलाई बेवास्ता गर्दै मेरिपोलको रुटमा रुसी सेनाले बमबारी गरेको आरोप लगाउँदै आएको छ ।