नेपाली कांग्रेस र माओवादी आ-आफ्ना चुनावी अभियानमा
काठमाडौँ — सत्तारूढ कांग्रेस र माओवादी केन्द्र आगामी वैशाख ३० मा हुने स्थानीय चुनावकेन्द्रित अभियानमा जुटेका छन् । कांग्रेसले मंगलबार पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यको अनौपचारिक बैठक बसेर फागुन २९ देखिको एकमहिने चुनावी अभियान घोषणा गरेको छ ।
माओवादी केन्द्रले भने केन्द्रीय समिति बैठकबाट दुईमहिने चुनावी अभियान चलाउने निर्णय गरेको छ ।
कांग्रेसले चुनावी अभियानका लागि ७७ जिल्लामै जाने केन्द्रीय प्रतिनिधिसमेत तोकेको छ । प्रधानमन्त्री एवं कांग्रेस शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै हुनेमा संशय नराखी अघि बढ्न निर्देशन दिएका छन् ।
देउवाले पार्टीका पदाधिकारीलाई लक्ष्य गर्दै गठबन्धन दलहरूप्रति उग्र भएर प्रस्तुति नदिन पनि निर्देशन दिएका छन् । ‘गठबन्धन दलहरूप्रति उग्र हुने काम छैन । प्रमुख प्रतिपक्ष एमालेको विरोधमा पनि खनिन आवश्यक छैन । हामी पनि आरोप/प्रत्यारोपमा लाग्यौं भने केपी ओलीभन्दा फरक हुँदैनौं,’ बैठकमा देउवाले भनेका थिए ।
कांग्रेसले स्थानीय तह चुनावका सञ्चालन हुने अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ सार्वजनिक गरेको छ । उपसभापति धनराज गुरुङले चुनावी अभियानमा एमसीसी सम्झौताका विषयमा उठेका भ्रम निवारण गर्ने र पार्टीको महाधिवेशनका बेला तल्ला तहसम्मै भएको गुटगत ध्रुवीकरण मेट्ने प्रयास हुने बताए ।
माओवादी केन्द्रले भने ‘समाजवादउन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नारासहित चुनावी अभियान चलाउने भएको छ । माओवादीले आफ्ना आठ लाख पार्टी सदस्यलाई चुनावमा परिचालन गर्ने तथा घरघरमा सदस्य र टोलटोलमा सदस्यता अभियान चलाउने जनाएको छ ।
संगठन सुदृढीकरण र विस्तारको नीतिअनुसार दुई महिनाको अवधिमा भेला, प्रशिक्षण, सदस्यता वितरण, सबै तहका कमिटी पूर्णता, स्थानीय तहमा आवश्यक विभाग गठन गर्नेलगायतका काम सक्ने पनि कार्ययोजनामा उल्लेख छ । चुनावी तालमेलका लागि गठबन्धन घटकसँग वार्ता–संवाद गर्ने र अन्य पार्टीसँग समन्वय गर्ने पनि माओवादीको कार्ययोजनामा उल्लेख छ ।
चुनावी कार्ययोजना कार्यान्वयनका लागि माओवादी केन्द्रले प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश साह, वाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेललाई इन्चार्ज तोकेको छ ।
गठबन्धन दलहरु बीचमा विश्वास कायम छ : माधव नेपाल
काठमाडौं, फागुन २५ गते । नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन दलहरु बीचमा विश्वास कायम रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरु बीचको विश्वास तोड्नलाई षड्यन्त्र भएको बताउनुभयो ।
एमसीसीकाे बिराेधमा लागेका प्रति संकेत गर्दै उहाँले भन्नुभयाे, ‘एमसीसीका बारेमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टिकरण रोध्नुपर्ने नहोस् । ती कुराहरु आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।’
उहाँले एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भएकाे बताउनुभयाे ।