माओवादी केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावबारे छलफल, गठबन्धन चुनावसम्मै
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थानीय चुनाव केन्द्रित भएको छ । शुक्रबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय चुनावको तयारीमा केन्द्रित हुन जोड दिनुभएको हो । नेता देव गुरुङका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गर्दै चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।
गठबन्धनकै आधारमा निर्वाचनसम्म जाने र पुरै निर्वाचनको तयारीमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ । नेता गुरुङका अनुसार एमसीसी परियोजनाको विषयमा दलहरुबीच सहमति नजुटेपछि व्याख्यात्मक टिप्पणीमार्फत् यसलाई अगाडि बढाएको विषय अध्यक्षले प्रष्ट पार्नुभएको छ । बैठकमा एमसीसीको विषयमा थप समीक्षा र मूल्यांकन गर्दै अगाडि बढ्ने विषयमासमेत छलफल भएको उहाँको भनाइ छ ।
‘सुरुदेखि एमसीसीको सबै पक्ष, कहाँ–कहाँ राष्ट्रघात छ ? सैन्य रणनीति अन्तर्गत यो राष्ट्रहित प्रतिकूलतामा नै छ । सबैसँग सर–सल्लाह, परामर्श गर्न पाए अझ राम्रो हुन्थ्यो भन्ने अवाज उठेको छ’, गुरुङले भन्नुभयो, ‘फरक मतको विषयमा पनि छलफल भएको छ ।’
बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे फरक मत राख्नुभएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठले फरक मत राख्नुभएपछि अध्यक्ष प्रचण्डले पार्टी भित्रको छलफलले पार्टी थप सुदृढ र एकीकृत हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘पार्टी एकताको विकल्प छैन। छलफल र व्यवस्थापन गर्दै जानुपर्छ । मतभेदका विषय छन् तर पार्टी युनिफाइड भएर अगाडि बढ्नेछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै गुरुङले भन्नुभयो ।
थप गृहकार्य गरेर माओवादी केन्द्रीय समिति बैठक आइतबार पुनः बस्नेछ ।
गठबन्धन चुनावसम्मै जाने : प्रचन्ड
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनसँगै अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम रहने सुनिश्चित भएको बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पारित नभएको भए गठबन्धन भत्किने र मुलुकमा प्रतिगमन दोहोरिने खतरा रहेको समेत ब्रिफिङ गरेका छन् ।
प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धन बनाउँदासम्म एमसीसी साझा कार्यक्रममा पनि थिएन । तर, समयक्रममा एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था आयो । तर, यसलाई संसदबाट हामीले ट्याक्टफुल्ली पास गरेसँगै अब गठबन्धन चुनावसम्म जाने निश्चित भएको छ । यो गठबन्धन तीनै तहका चुनावमा पनि कायम राख्ने प्रयास गर्छौं ।’
अध्यक्ष प्रचण्डले एमसीसीमा फरक मत स्वाभाविक भए पनि पार्टीभित्र केही व्यक्तिले कार्यकर्तालाई नै भ्रमित पार्न खोजेकोमा आक्रोशसमेत व्यक्त गरेका छन् ।
माओवादीमा एमसीसीबारे तीन नेताले बुझाए लिखित फरक मत
त्यस्तै नेकपा (माओवादी केन्द्र)का तीनजना नेताहरूले एमसीसीका विषयमा लिखित रूपमा फरक मत राखेका छन् । नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले एमसीसीबारे फरक मत पेस गरेका हुन् । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा तीन नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फरक मत बुझाएका छन् ।
एक नेताकाअनुसार फरक मतमा एमसीसीमा आफूहरूको असहमति रहेको तर पार्टीको निर्णय मानेर जाने उल्लेख छ । फागुन १५ गते व्याख्यात्मक घोषणा गरेर जाने निर्णयमा पनि यी नेताहरूको असहमति राखेका थिए ।
त्यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि फरक मत राखेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा उनले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै आफ्नो धाराणा सुनाएका छन् । उनले लिखित मत बुझाउने जानकारी पनि गराएका छन् ।
आजको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले एमसीसीका सन्दर्भमा धाराणा राखेका थिए ।