अष्ट्रेलियन विश्व क्रिकेटकै ‘महान खेलाडी’ शेन वार्नको निधन

एजेन्सी । अस्ट्रेलियाका लेजेन्ड लेग स्पिनर शेन वार्नको शुक्रबार निधन भएको छ । विश्व क्रिकेटकै एक महान खेलाडी वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

वार्नले टेस्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा धेरै विकेट लिनेमा वार्न दोस्रो स्थानमा छन् । १५ वर्षको खेलाडी जीवनमा उनले १४५ खेल खेलेका थिए ।

वार्नको व्यवस्थापन कम्पनीकाअनुसार वार्न थाइल्यान्डको कोह सामुईस्थित आफ्नो घरमा अचेत अवस्थामा भेटिएका थिए । उनीहरूले भनेका छन्, ‘‘वार्नको हृदयघातका कारण निधन भएको खबर सुनाउनु पर्दा हामी धेरै दुखी छौँ । मेडिकल स्टाफको अथक प्रयासका बाबजुद हामीले उनलाई बचाउन सफल भएनौँ । उहाँको परिवारले अहिले केही बताउन चाहनुभएको छैन । थप जानकारी पछि गराउनेछौँ ।’’

वार्नले १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १९९३ देखी २००५ को बीचमा १९४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २९३ विकेट लिएका थिए ।

उनले २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । इङ्ल्यान्डविरुद्धको एसेस टेस्ट सृङ्खला ५–० ले क्लिनस्विप गरेपछि वार्नले सन्यासको घोषणा गरेका थिए । त्यसको एक वर्षपछि उनले फर्स्ट–क्लास र लिस्ट ‘ए’ क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका थिए । उनले टेस्टमा भारतविरुद्ध डेब्यू गरेका थिए भने अन्तिम खेल इङ्ल्यान्डविरुद्ध खेलेका थिए । यस्तै उनले सन् १९९३ मा न्युजिल्यान्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।

भारतको इन्डियन प्रिमियर लिगमा पनि वार्नले पहिलो संस्करणमा उनले राजस्थान रोयल्र्सको कप्तानी गरेका थिए । राष्ट्रिय टिमबाट २००७ मा सन्यास लिए पनि फ्रेन्चाइज क्रिकेट भने वार्नले २०१३ सम्म खेलेका थिए ।

पछिल्लो समय उनी कमेन्टेटर र क्रिकेट पण्डितको रूपमा काम गरिरहेका थिए । साथै फ्रेन्चाइज क्लबमा प्रशिक्षकको भूमिकामा पनि थिए ।