प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले देउवासँग टेलिफोन संवाद गरेका हुन् ।

प्रधानमन्त्री देउवाका प्रेस चिफ गोविन्द परियारका अनुसार दुई जना बीचमा मंगलबार राति कुराकानी भएको हो । उक्त संवादका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ ।

विदेश मन्त्री ब्लिन्केनले रुसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको अमेरिकाको समर्थनबारे नेपालका प्रधानमन्त्री देउवासँग कुराकानी भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन् । साथै, विदेश मन्त्री ब्लिन्केनले दुई जनाबीचको संवादमा आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने विषयमा छलफल भएको पनि प्रस्ट पारेका छन् ।

प्रधानमन्त्रीका प्रेस चिफ परियारका अनुसार दुई जनाबीचको संवादमा अमेरिकाले नेपालको आर्थिक विकासमा विगत लामो समयदेखि निरन्तर गर्दै आइरहेको सहयोगलाई लिएर प्रधानमन्त्री देउवाले विदेशमन्त्री ब्लिन्केनलाई धन्यवाद दिएका थिए । नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अमेरिकाबाट निरन्तर सहयोग रहेको उल्लेख गरेका थिए । साथै, दुई जनाबीचको संवादमा युक्रेनमाथि रुसी आक्रमणको विपक्षमा अमेरिका र नेपाल दुवै रहेको उल्लेख गरेको परियारले जानकारी दिए ।

नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर संसद्बाट फागुन १५ मा अनुमोदन भएको थियो । अनुमोदन भएलगत्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले अब एमसीसी सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको जनाएको थियो ।

विगत ४ वर्षदेखि एमसीसी सम्झौता के हुने भनेर नेपालमा छलफल र बहसमात्र भइरहँदा अमेरिका असन्तुष्ट भएको थियो । रुसले युक्रेनमाथि गरिहेको आक्रमण र नेपालमा एमसीसी सम्झौता अनुमोदन भएको परिप्रेक्ष्यमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवासँग कुराकानी गरेका हुन् ।

यसअघि देउवा सरकारमा आएपछि गत साउन १२ मा भारत भ्रमणको दौरानमा अमेरिकी विदेश मन्त्री ब्लिन्केनले एमसीसी सम्झौता लगायत द्विपक्षीय सम्बन्धका बारेमा प्रधानमन्त्री देउवालाई दिल्लीबाट फोन गरेका थिए । नेपाल सरकारले फागुन १२ मै युक्रेनमाथि रुसी आक्रमणको आफ्नो स्पष्ट धारणा ल्याइसकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको थियो ।