रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु
किभ – युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ । रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु भएको छ ।
रुसले क्षति सामना गरेको पहिलो पटक स्वीकारेको बताइएको छ । रुसी हमलापछि ५ लाखभन्दा बढी मानिस युक्रेन छोडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले जनाएको छ । पछिल्लो स्याटलाइट तस्बीरमा युक्रेनको राजधानी किभबाट उत्तरतर्फ रुसी सेना बोकेका कन्भोयका ताँती गुडेको देखिन्छन् ।
युक्रेनको राजधानीमा किभ आक्रमण गर्न रुसी सेना तयार, ६४ किलोमिटरसम्म सैन्य सवारीको लाइन
युक्रेनको राजधानी किभमा आफ्नो पुरा शक्ति प्रयोग गरेर रुसले आक्रमण गर्ने योजना बनाएको देखिएको छ । यसअघि हवाई कारवाही गर्दै आएको रुसले यतिबेला थल सेना किभ पठाएको पाइएको हो ।
म्याक्सर टेक्नोलोजीको स्टाटेलाइटबाट खिचिएको तस्बिरअनुसार किभनजिकै ४० माइल लामो ‘६४ किमी’ रुसी सेनाका गाडीको लस्कर देखिएको छ । सीएनएनका अनुसार किभभन्दा उत्तरतर्फको इभानकिभ सहर नजिकैबाट उक्त लस्कर सुरु भएको सार्वजनिक भएका तस्बिरहरुमा देखिएको छ ।
अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको हतियार पठाउने
अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता पठाउने भएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले ५ करोड डलर बराबरको घातक तथा गैर घातक सहायता पठाउने बताएका हुन् ।
‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ’ उनले भने । तर ‘रुसलाई त्यसबारे पूर्व सूचना’ आफूले दिन नचाहेको बताउँदै उनले सहयोग विस्तृत विवरण दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ । मोरिसनले उनको सरकारले मानवीय सहायताका लागि युक्रेनलाई थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलर बराबरको सहायता उपलब्ध गराउने बताए ।
के भन्छन् पुटिन ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तटस्थ, डिनाजिफाइड (नाजी सोचबाट मुक्त) र निशस्त्र भए मात्रै युक्रेन समस्या समाधान सम्भव हुने बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगकाे टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले रुसले सन् २०१४ मा बिलय गराएको क्रिमियालाई औपचारिक रुपमा मान्यता दिनुपर्ने माग गरेका छन् ।
यसैबीच, युक्रेन र रुसी वार्ताकार थप छलफलका लागि आ–आफ्ना देशका राजधानी सहरमा फर्किएका छन् । पुनः वार्ताका लागि उनीहरु सम्बन्धित सरकारसँग छलफलमा जुटिरहेका छन् ।