संसद् बैठक छल्न पर्बत कुश्मा पुगे अर्थमन्त्री
पर्वत — संघीय संसद् सचिवालयको सूचना अनुसार आज दिउँसो १ बजे अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ । तर, उनै अर्थमन्त्री शर्मा भने संसद् छलेर बुधबारदेखि पर्वतमा छन् । उनी बिहीबार दिउँसो २–३ बजेसम्म पर्वतमा हुने कार्यक्रममा सरिक रहने छन् ।
अर्थमन्त्री शर्मा बुधबार साँझदेखि नै पर्वत र बागलुङका विभिन्न पर्यटकीयस्थल र रिसोर्टहरुमा घुमफिर गरिरहेका हुन् । पर्वतका एक सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार अर्थमन्त्री शर्मा बिहीबार दिनभरजसो पर्वतमा रहने छन् । पर्वत उद्योग वाणिज्य संघको स्थापना दिवस तथा साधारणसभा उद्घाटनका लागि उनी पर्वत आएका हुन् । बिहीबार साढे ११ बजे कार्यक्रम सुरु हुने भनेर प्रचार गरिएको कार्यक्रमका लागि अर्थमन्त्री शर्मा भने बुधबार नै पर्वत आएका हुन् ।
बुधबार हवाइ उडानमार्फत पोखरा विमानस्थलमा अवतरण गरेका शर्मा पोखरादेखि पर्वतसम्मको ५७ किलोमिटर स्थलमार्गमार्फत यात्रा गरेर पर्वत आएका हुन् । परिवारसहित पर्वत आएका अर्थमन्त्री शर्माले बुधबार ‘द क्लिफ’द्वारा सञ्चालित बागलुङको क्लिफ रिसोर्टमा परिवारसहित बसे । बिहीबार बिहान पर्वतका स्थानीय राजनीतिक अगुवा, व्यवसायी र माओवादी केन्द्रका कार्यकर्ताहरुसँगको भेटघाटमा व्यस्त भए । बिहान केहीबेर पर्वतको गुप्तेश्वर गुफा तथा स्थानीय युवाहरुको लगानीमा सञ्चालित जीपलाइन, बञ्जी, यान्त्रिक पुल लगायतका पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेको माओवादी केन्द्रनिकट स्रोतले बतायो ।
माओवादीका सचिवालय सदस्य एवं कुश्मा नगरकमिटीका अध्यक्ष शंकर गिरीका अनुसार बिहान साढे १० बजेसम्म अर्थमन्त्री शर्मा एमाओवादीनिकट व्यवसायी तथा कार्यकर्ताहरुसँगको छलफलमा व्यस्त छन् । साढे ११ बजे तय गरिएको उद्योग वाणिज्य संघको कार्यक्रम सकेर शर्मा दिउँसो ३ बजेतिर स्थलमार्ग हुँदै पोखरा पुगेर काठमाण्डौं फर्किने कार्यक्रम रहेको पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए ।
अर्थमन्त्रीसाथै रहेका पत्रकार त्रिभुवन पौडेलले भने उद्योग वाणिज्य संघको कार्यक्रम पहिले नै तय भएको र संसद्मा एमसीसी छलफलका लागि जसले पेस गर्दा पनि हुने बताए । पौडेलले भने, ‘आजको कार्यक्रम निकै पहिले तय भएको थियो । आइतबारको संसद्मा अर्थमन्त्रीले एमसीसी पेस गर्ने कार्यसूची थियो । पछि सञ्चारमन्त्रीले पेस गर्नुभयो । संसद्मा छलफलका लागि अरु कोहीले पेस गर्दा पनि फरक पर्दैन ।’
प्रतिनिधिसभाको सूचना अनुसार बिहीबार (आज) दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री शर्माले एमसीसी सम्झौतामाथिको छलफल र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । सरकारमा सहभागी भएर पनि एमसीसीको विरोध गर्दै आएको माओवादीले एमसीसीमाथिको छलफलबाट तर्किन कार्यसूची पेस गर्ने मन्त्री नै संसद् छलेर पर्वत आएको पर्वतस्थित कांग्रेस नेताहरुले बताएका छन् । छलफलको विषय प्रस्तुत गर्नुपर्ने मन्त्री नै संसद्मा अनुपस्थित भएपछि बिहीबारको संसद्मा एमसीसीमाथिको छलफल हुने/नहुने ठेगान नै नरहेको उनीहरुले बताएका छन् ।
यसअघि आइतबारका लागि तय गरिएको छलफलमा अर्थमन्त्री शर्माले आफू बिरामी भएको भन्दै संसद्मा अनुपस्थित भएका कारण एमसीसीमाथिको छलफलको कार्यसूची सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।