कलाकार जयनन्द लामाको निधन
काठमाडौं : कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको हो । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए ।
उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा निरन्तर चलचित्रमा अभिनयमा सक्रिय थिए । उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए । गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे । उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो । राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले ।
गाउँ पञ्चायतको सांगीतिक कार्यक्रम हुँदै अञ्चलस्तरीय कार्यक्रममा पनि गीत गाउन थाले। प्रजातन्त्र दिवस मनाउने र राजाको जन्मदिनसँगै मनाउने गरी आयोजना भएको कार्यक्रममा सहभागी भए। प्रज्ञा प्रतिष्ठानको जागिरे थिए उनी । प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो । नेपाल फर्केर उनी अहिलेसम्म लोकसंगीतमै सक्रिय छन् । एपी वान टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो लोक स्टारको निर्णायक मण्डलमा पनि थिए लामा ।
उनले थुप्रै मौलिक लोकगीत गाएका छन् । ‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र ? ’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने ।’ उनले यी बोलका गीत रेकर्ड गराए। उनी राजा महेन्द्र र वीरेन्द्रको नोटिसमा परेका थिए । दरबारमै बसेर पढ्ने मौका पाए। दरबारमै बसेर फाइन आर्टमा ब्याचलर्ससम्म अध्ययन गरे ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै लामा बौद्ध गएका थिए । बुधबार बिहान ७ बजेतिर आफन्तले बा३च ७७४१ नम्बरको कारमा लामालाई मृत भेटेको डीएसपी पाण्डेले बताएका छन् । डीएसपी पाण्डेका अनुसार खुट्टा गाडीमा शरीर घोप्टो परी टाउको भुईंमा जोतिएको अवस्थामा लामा मृत भेटिएका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव लैजाने तयारी भएको प्रहरीले जनाएको छ । उनी ६५ वर्षका थिए ।