एमसीसी टेबल गर्नेबारे खनाल र नारायण काजीको असहमति
काठमाडौँ — नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता संसदमा टेबुल हुन नसक्ने दाबी गरेका छन् ।
ईकान्तिपुरसँग कुरा गर्दै नेता खनालले सम्झौता परिमार्जन गर्ने निर्णयमा भएको सहमति पार्टी निर्णयको स्प्रिट अनुसार नभएको बताएका छन् ।
पार्टीको दोस्रो वरियतामा रहेका खनालको असहमतिसँग नेकपा एसभित्र एमसीसीको विषयलाई लिएर देखिएको मतभेद सतहमा आएको छ ।
‘हिजोको स्थायी कमिटीको बैठकमा कुनै प्रकारको विभाजन थिएन । तर आज जे कुरा भएको छ त्यो हिजो निर्णयको स्प्रिरिट विपरित छ’ खनालले भने, ‘परिमार्जन नगरिकन एमसीसीलाई अघि बढाउनै सकिन्न भनेर शनिबारको स्थायी कमिटीको बैठकले निर्णय गरेको हो । अहिले टेबुल सेबुल गर्ने निर्णय हो भने यो टेबुल गर्ने निर्णय भनेको बचकना निर्णय हो । यो विदेशीहरुको दबाबमा झुक्ने कुरा हो ।’
खनालले ३ कारणले एमसीसी अघि बढ्न नसक्ने बताएका छन् । ‘हामीले पास गरेको दस्तावेजले यो एउटा करार सम्झौता मात्रै हो भनेर भनेको छ । यस्तो कुराहरु संसदमा लगेर अनुमोदन गर्नुपर्ने जरुरत नै हुँदैन’ उनले भने ‘दोस्रो कुरा हाम्रो संविधानको धारा २७९ बमोजिम संघीय कानून बनाइकन त्यस्ता कुरा अनुमोदनमा लैजाने सकिदैन भन्ने कुरा स्पष्ट छ । त्यस्तो ऐन बनेको छैन । तेस्रो कुरा हाउस खुलेकै छैन प्रतिपक्षी दलले बन्द गरेको छ ।’
एमसीसी टेबल गर्नेबारे पार्टीमा सल्लाह भएको छैन : श्रेष्ठ
त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबल गर्ने सैद्धान्तिक सहमति गरेको थियो । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् ।
‘एमसीसी संसदमा टेबल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ,’ श्रेष्ठले भने ।